सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर। भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।

विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भरपर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका– ५ खावा केराबारीका किसान देवराज राईले बताए । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आएका राईले वार्षिक रूपमा करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

‘अहिले सुन्तलाको मुख्य सिजन हो,’ उनले भने, ‘गाउँभरि सुन्तला बिक्री भइरहेको छ । मैले प्रत्येक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु ।’ यस क्षेत्रका करिब १२० घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको राईको भनाइ छ । सडकका कारण गाउँघरमा फलेको सुन्तला धरान, इटहरी, विर्तामोड, विराटनगर, काठमाडौंलगायतका मुख्य शहर, बजारमा जाने गरेको छ । एकपटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको हो ।

सुन्तला खेती वडाबासीको प्रमुख आम्दानीको स्रोत बनेपछि खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ– ५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिए । उनका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरेर वडाले सहयोग गर्दै आएको छ । वडाध्यक्ष राईले भने, ‘यहाँका किसानले सुन्तलाको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खेती प्रवर्द्धनका लागि वडाले आवश्यक सहयोग गरिरहेको छ ।’

कृषि पकेट कार्यक्रमअन्तर्गत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका विरुवा वितरण गरेको थियो ।

भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत वर्ष जिल्लामा ६ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । हाल उत्पादन बजारमा बिक्री भइरहेकाले विवरण सङ्कलन भइरहेको छ ।