काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।
आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०:०० बजेदेखि २३ गते अपराह्न ४:०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको हो ।
आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।
आयोगले यही मङ्सिर २४ गते बिहान १०:०० देखि अपराह्न ४:०० बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गर्नेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आगामी फागुन २१ गते हुने निर्वाचनको मिति आउन अब अब ९० दिन बाँकी छ ।