विशेष महाधिवेशन कांग्रेसलाई भड्खालोमा हाल्ने एजेण्डा होः युवा नेता शाही

विशेष महाधिवेशन कांग्रेसलाई भड्खालोमा हाल्ने एजेण्डा होः युवा नेता शाही

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले नियमित महाधिवेशनको विकल्प विशेष महाधिवेशन हुन नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनले पार्टीमा विग्रह आउने बताए । उनले सबै जना सहमति, सहकार्य र एकता कायम गरेर नियमित महाधिवेशनको बाटोमा अगाडि बढ्नुपर्ने उनले बताए ।

‘नियमित महाधिवेशनको विकल्प विशेष महाधिवेशन हुन सक्दैन । विशेष महाधिवेशनले पार्टीलाई विग्रहमा पुर्याउँछ । हामी अहिलेको विषम परिस्थितिमा पार्टीभित्र सहमति, सहकार्य, एकता चाहन्छौं । सहमति, सहकार्य र एकता नै पार्टीभित्रको र देशको लोकतन्त्रको आवश्यकता हो,’ उनले भने ।

विशेष महाधिवेशन पार्टीलाई भड्खालोमा हाल्ने एजेण्डा रहेको उनको टिप्पणी छ । उनले कांग्रेस कमजोर भएको खण्डमा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भएको खण्डमा राष्ट्रियता कमजोर हुने बताए । पार्टीलाई बलियो बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर आउन पनि सहमति, सहकार्य र एकता आवश्यक रहेको बताए ।

साथै, उनले जेन–जी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणलाई कांग्रेसमाथि भएको आक्रमणको रुपमा हेरिनुपर्ने बताए । त्यस्ता जघन्य अपराधमा संलग्नहरुलाई सरकारले छानविन गरेर कारबाही गर्नुपर्ने उनले बताए ।