काठमाडौं। बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका-३ स्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।
यसैगरी, ओखलढुंगाको मानेभञ्याङ गाउँपालिका-६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग, उदयपुरको कटारी नगरपालिका-१४ दलदलेमा रहेको सिद्धिचरण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका-५ ढिकुरेस्थित मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँगुरीगढी गाउँपालिका-१ स्थित कोशी लोकमार्ग, इलामको इलाम नगरपालिका-९ राजदुवालीलगायत मेची राजमार्गका विभिन्न स्थान अवरुद्ध भएका छन्।
यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ स्थित नेपाल चीन मितेरी पुल, सोही गाउँपालिका-५ स्याप्रुबेंसीलगायतका चार स्थानमा पूर्णरुपमा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलोस्थित अरनिको राजमार्ग, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ माम्तीखोलास्थित बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।
वर्षाका कारण आएको बाढीपहिरोबाट मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेखोलास्थित कान्ति लोकपथ, मकवानपुरकै भीमफेदी गाउँपालिका-८ स्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका-३ स्थित कुलेखानी दक्षिणकाली सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए।
यसैगरी, सिन्धुलीको फिक्कल गाउँपालिका नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सिन्धुलीकै सुनकोशी गाउँपालिका-१ नेपालथोकस्थित बिपी राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।