नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव- ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’

नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव- ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर नभइ आपसमा मिलेर र जुटेर मात्रै शक्तिशाली भइने बताएका छन्।

मन्त्री पुनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन आयोगमा धेरै नयाँ दल दर्ता भएको प्रति लक्षित गर्दै सानातिना कुरामा असन्तुष्टि राखेर पार्टी दर्ताको होडबाजीमा उत्रनु राम्रो नभएको बताएका हुन्।

उनले लेखेका छन्- ‘हेर्नुहोस् १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे ! यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्।’

उनले यस्तो ताल हो भने नेपालमा वृद्ध नेताहरूको संरक्षणमा खाइपल्केकाहरुको शासन फेरि फर्किने उल्लेख गरेका छन्।

मन्त्री पुन लेख्छन्- ‘नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ । यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ।’

उनले नयाँशक्ति एकजुट भएर नजाने हो भने जेनजी आन्दोलनको लक्ष्य तुहिने भन्दै अहिले सरकारले गरेका राम्रा कामहरू तिनै भ्रष्टहरूले उल्ट्याउने उल्लेख गरेका छन् ।