काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा सचिवालय संयोजक गंगा दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामो र भावुक अभिव्यक्ति सार्वजनिक गर्दै उनले निरन्तर आफूलाई देखाएर प्रचण्ड र समग्र पार्टीमाथि योजनाबद्ध प्रहार भइरहेको आरोप लगाएकी हुन्। त्यही कारण सचिवालय संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको उनले जनाएकी छन्।
गंगाले लेखेकी छन्, “म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको देहवसानपछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आएँ। पार्टी नेताहरूको सल्लाहमा निस्वार्थ भावले पार्टी, आन्दोलन र बुवाको सहयोगको लागि सकेको प्रयास गरेँ।”
उनले पछिल्ला दिनमा संचार माध्यममार्फत आफ्ना बारेमा आएको ‘भ्रामक र कुप्रचारपूर्ण समाचार’ प्रति गम्भीर आपत्ति जनाएकी छन्।
“कहिले कति लाखको ब्याग भनिदिन्छन्, कहिले कति लाखको घडी। एक लाख पर्ने ब्याग वा घडी मैले कहिल्यै किनिनँ। साथीहरूले जन्मदिनमा दिएको उपहार थियो, त्यो पनि जलेर खरानी भइसकेको छ। तर अझै पनि त्यही कुरा ल्याएर प्रहार गरिरहेछन्।” उनले भनेकी छन्।
गंगाले थप भनेकी छन्, आफूले सधैं सहयोगीका रूपमा काम गर्न खोजे पनि विवादमा नपर्ने प्रयासका बाबजुद निरन्तर विवादमा तानिनुपरेको छ। यो ठाउँ त्यस्तै रहेछ-जति राम्रो गर्ने प्रयास गरे पनि विवादमा परिहालिने,” उनले उल्लेख गरेकी छन्।
सचिवालय संयोजक पदबाट अलग भए पनि आफू पार्टीप्रति समर्पित रहने उनले स्पष्ट पारेकी छन्। “म पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु,” उनको भनाइ छ।