काठमाडौं। एशिया कपको तयारी स्वरूप संयुक्त अरब इमिरेट्स (यूएई)मा सम्पन्न त्रि–देशीय क्रिकेट सिरिजको उपाधि पाकिस्तानले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा अफगानिस्तानलाई ७५ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो।
पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाए भने मोहम्मद नवाजले २५ र कप्तान सलमान आगाले २४ रनको योगदान दिए।
१४२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको ब्याटिङ पूर्णरूपमा धराशायी भयो। अफगानी टोली १५.५ ओभरमै जम्मा ६६ रनमा समेटिएको हो। कप्तान राशिद खान र सेदिकुल्लाह अटलबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पाकिस्तानको जितमा अलराउन्डर मोहम्मद नवाज नायक बने। उनले चार ओभरमा एक मेडन राख्दै १९ रन खर्चेर पाँच विकेट लिए। अब्रार अहमद र सुफियान मुकिमले दुई–दुई विकेट हात पार्दै नवाजलाई बलिङमा साथ दिए।
अफगानिस्तानका लागि बलिङतर्फ कप्तान राशिद खानले तीन विकेट लिए भने फजलहक फारुकी र नुर अहमदले दुई–दुई विकेट लिए।
सिरिजको समूह चरणमा पाकिस्तान र अफगानिस्तानले समान तीन–तीन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए।