लगातारको वर्षाले एनपीएल प्रभावित, खेल नभए टिकट के हुन्छ ?

लगातारको वर्षाले एनपीएल प्रभावित, खेल नभए टिकट के हुन्छ ?

काठमाडौँ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) प्रभावित भएको छ ।

आज हुने भनिएका दुवै खेल वर्षाले प्रभावित भएपछि टिकट काटेका दर्शकको रकम फिर्ता हुने वा अर्को खेलमा हेर्न पाउने भन्ने विषयमा चासो बढेको छ । आज पहिलो खेलमा अपरान्ह १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्ने तालिका छ ।

नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदमबहादुर खड्काले खेल हुन नसके टिकटको व्यवस्थापनबारे छलफल भइरहेको बताएका छन् ।खड्काले मैदान वर्षाले दलदल बनेको उल्लेख गर्दै बेलुकाको खेल हुने आशा व्यक्त गरे । दुवै खेल हुन नसके निर्णयमा पुग्ने उनले बताए ।

‘अन्तर्राष्ट्रिय रूपमा खेल हुन नसके टिकटको रकम फिर्ता गर्ने चलन छैन । तर, विशेष परिस्थितिमा त्यसो नगर्ने कि भन्ने मेरो मान्यता हो,’ उनले भने । टिकट काटेका दर्शकलाई अर्को खेल हेर्ने व्यवस्था मिलाउने वा रकम फिर्ता गर्ने विकल्पबारे छलफल भइरहेको उनले बताए ।

काटिएको टिकटबाट दर्शकले आफूलाई अनुकूल अर्को दिनको खेल हेर्न पाउने व्यवस्था गर्न सकिने उनको भनाइ छ । उनले भने,  ‘अन्तर्राष्ट्रिय प्राक्टिसमा चाहिँ खेल भएन भने फिर्ता हुने चलन छैन । तर, विशेष परिस्थितिमा त्यो नगर्ने कि भन्ने मेरो मान्यता हो । टिकट काटेका दर्शकलाई अर्को खेल हेर्ने व्यवस्था मिलाउने कि भन्ने पनि छ । रकम फिर्ताका लागि पनि सहज हुनुपर्यो । सो टिकट लिएर दर्शकले चाहेको अर्को दिनमा खेल हेर्न मिल्नेगरि टिकट व्यवस्था पनि गर्न सकिन्छ ।’

खड्काले खेल हुन नसके दुवै टोलीलाई १-१ अंक बाँडिने पनि बताए ।