रुपन्देही। भारतको प्रयागराज स्थित महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देव दहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
तीर्थालु सवार गाडी दुर्घटनामा देव दह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ बर्षीया दीपा खनाल र ४० बर्षीया गीता शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो।
युपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडी डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जानकारी आएको सेनले बताए।
दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा देव दह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन्।
उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीबाट जानकारी आएको प्रहरी निरीक्षक सेनले बताए।
फागुन ३ गते देव दहबाट महाकुम्भ मेला स्नान गर्न पाँच वटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो।