सेवा अवधि नसकिँदै एआईजी केसीले दिए राजीनामा

सेवा अवधि नसकिँदै एआईजी केसीले दिए राजीनामा

काठमाडौं। सेवा अवधि बाँकी छँदै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। आगामी ५ चैतसम्म सेवा रहेका उनले त्यसको करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् ।

एआईजी केसीले राजीनामापत्र बुझाएको प्रहरी हेडक्वार्टर स्रोतले पुष्टि गरेको छ। उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । र, मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी अवकाशमा जानेछन्।

प्रहरी हेडक्वार्टरमै रहेको प्रदेश समन्वय विभागमा रहेका उनले गत शुक्रबार राजीनामा बुझाएका थिए। २६ पुसमको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो । एआईजी भएको एक महिनामै उनले राजीनामा दिएका छन्।

उनले पूरा अवधि एआईजीमा बिताउँदा अर्का डीआईजी जनक भट्टराई एआईजीमा बढुवा हुने सम्भावना नरहेकाले दुबै जनालाई एआईजी बनाउने तयारी अनुसार केसीलाई राजीनामा गर्न लगाइएको स्रोत बताउँछ ।

उक्त सहमतिअनुसार नै केसीले राजीनामा दिएको स्रोतको भनाइ छ । भट्टराई भने हाल कर्णाली प्रदेशको प्रमुखको रुपमा कार्यरत छन् । भट्टराई पनि आगामी ५ चैतमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन्।