कांग्रेसले नयाँ युगको कार्यभार पूरा गर्न सक्दैन, भ्रष्टाचारी पार्टी होः बाबुराम भट्टराई

कांग्रेसले नयाँ युगको कार्यभार पूरा गर्न सक्दैन, भ्रष्टाचारी पार्टी होः बाबुराम भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई भ्रष्टाचारी पार्टीको रुपमा चित्रण गरेका छन् । आज (आइतबार) पार्टी प्रथम महाधिवेशनमा भट्टराईले पेश गरेको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा उनले कांग्रेसका नेताहरु कुनै न कुनै भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेको उल्लेख गरेका छन् । उनले कांग्रेसबाट अर्थ राजनीतिक समस्या र नयाँ युगको नयाँ कार्यभार पूरा नहुने बताएका छन्।

‘यस (कांग्रेस) का नेताहरू सधैँ कुनै न कुनै भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेका छन् । देशका गम्भीर प्रकृतिका अर्थ राजनीतिक समस्या र नयाँ युगको नयाँ कार्यभार यो ऐतिहासिक रुपले पुरानो भइसकेको राजनीतिक धार र शक्तिबाट पूरा हुन असम्भव छ,’– उनले भनेका छन् ।

साथै, बिपी कोइरालाको समय यता कांग्रेसले वैचारिक, राजनीतिक कार्यक्रमिक ढंगले खासै प्रगति र नयाँपन प्रदर्शन गर्न नसकेको उनको दाबी छ । पटक–पटक सत्ताको नेतृत्व गर्दा पनि देशका राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा कांग्रेसले गुणात्मक रूपान्तरण गर्न नसकेको उनको दाबी छ ।