काठमाडौँ । ओछ्यानका पत्रदेखि लगाउने कपडासम्म पसेर रगत चुस्दै चिड्चिडाहट पैदा गरिदिने उडुसले शारीरिकमात्र होइन, मानिसलाई मानसिक रूपमै अत्याउँछ ।
अङ्ग्रेजीमा ‘बेडबग’ र हिन्दीमा ‘खटमल’ भनिने उडुसले कहिलेकाहीँ त देशमै प्रलय निम्त्याउँछ । सन् २०२४ मा ओलम्पिक खेल आयोजना गर्नुअघि फ्रान्सले उडुससँग ठूलै लडाइँ गर्नुपर्यो ।
उडुसले अत्याएपछि लाखौँ फ्रान्सेलीहरू देशै छाडेर घुम्न हिँडे । यतिसम्म कि, पेरिसमा उडुस आतङ्कबारे जानकारी पाएका अन्य देशका मानिसहरू फ्रान्सेलीहरू देख्नासाथ परै बस्थे । कारण थियो – पर्यटकसँगै आएको उडुस आफूलाई पनि सल्किने डर !
ज्याद्रो चुसक परजीवि एकपटक सल्किएपछि सितिमिति मास्न सकिँदैन । अनेक घरेलु उपाय अपनाउँदा मानिस आजित हुन्छ । तर, मानिसका अघि उडुस अपराजेय चाहिँ होइन । विज्ञानले सावधानीपूर्वक उडुस तह लगाउने उपाय पत्ता लगाइसकेको छ । युवाहरूले उडुस नियन्त्रणलाई नवप्रवर्तन (इनोभेसन)सँगै जोडिसकेका छन् । अमर श्रेष्ठ र विद्यानन्द झा नेपालका यस्तै युवा हुन् ।
यी दुई युवाले ‘अरेन्ज बल प्रालि’ नामक कम्पनीबाट उडुस, उपियाँ, साङ्ला, मुसा र सर्पजस्ता कीट र सरीसृप नियन्त्रण गर्ने गर्छन् । काठमाडौंमै जन्मे/हुर्केका श्रेष्ठ र झाले आजभन्दा १३ वर्ष अघि नै उडुस मार्ने व्यवसाय खोलेका थिए । अरेन्ज कम्पनीका परिकल्पनाकार भने झा हुन् ।
झा मोबाइल पसलमा काम गर्ने । त्यहाँ आउने धेरै ग्राहकले आफू उडुसबाट आजित भइरहेको बताउँथे । उडुस मार्नकै लागि विषादी पसलबाट कडाभन्दा कडा विषादी लगिरहेको देख्थे । त्यस्तो अवस्था देखेपछि उनले उडुस नियन्त्रण सेवा दिने व्यवसाय परिकल्पना गरे ।
सेवा त दिने ! तर कसरी ? त्यो प्रश्नले झालाई निकै दिनसम्म सताइरह्यो । उनले उडुस नियन्त्रणबारे अध्ययन सुरु गरे । अध्ययनकै क्रममा भारतमा पेस्ट सर्भिसको तालिम दिन लागेको कुरा थाहा पाए । उनी त्यतै हान्निए । तालिम सकेर आएपछि उनले नेपालमा काम थाल्ने योजना बनाए । ग्राहक खोज्दै हिँड्न थाले । ग्राहक खोज्दै गर्दा उनले मुसा आतङ्कबाट ग्रस्त एक ट्राभल एजेन्सी भेट्टाए ।
उक्त एजेन्सीसँग मासिक करिब १२ हजार रुपैयाँजति शुल्क लिने र तीन वर्षसम्म सेवा दिने सहमति भयो । मुसाले तार काटेर ट्राभल एजेन्ट हैरान थिए । झाले सेवा दिएको केही दिनपछि पनि मुसाले तार काटिदियो । त्यो समस्या एजेन्सीवालाले झालाई सुनाए । अब झालाई पर्यो फसाद ! ट्राभल एजेन्सीबाट ल्याएको पैसा पनि खर्च गरिसकेका थिए । पैसा फिर्ता गर्ने कि भनी सोच्न थाले ।
त्यही चिन्ताले झालाई सताइरहेको थियो । त्यही बीच उनी आफूले विषादी लिने पसलमा पुगे र ट्राभल एजेन्सीमा भएको घटनाको बेली विस्तार लगाए । ती पसलेले चलाखीपूर्ण उपाय सुनाइदिए, ‘मैले नियन्त्रण गरेको मुसा अर्को हो, त्यहाँ आएको मुसा अर्को हो, भनिदेऊ न !’ त्यसपछि भने झाले राहत सास फेरे । ट्राभल एजेन्सीमा पनि झाले त्यही कुरा बताए र समस्या समाधान गरिदिए ।
झाले उडुस मार्नेदेखि मुसा नियन्त्रणसम्मका काम गरिरहेका थिए । अमर श्रेष्ठ र झाबीच सानैदेखि चिनजान थियो । तर, भेटघाट हुँदा व्यवसायबारे खासै कुरा हुँदैनथ्यो ।व्यवसाय थालेको दुई वर्षपछि एक दिन श्रेष्ठलाई आफ्नो व्यवसायबारे बताए । श्रेष्ठलाई पनि झाले गरिरहेको व्यवसाय नेपाली बजारका लागि नयाँ लाग्यो ।
‘म पनि जागिर नै खानुपर्छ भन्ने पक्षमा थिइनँ’, हाल अरेन्जका निर्देशक रहेका श्रेष्ठले भने, ‘यस्तो अवसर छ भनेपछि म पनि साथीको व्यवसायिक साझेदार भएँ ।’
श्रेष्ठ आउनुभन्दा अघि अरेन्जमा झासहित चार जनाको टिम थियो । श्रेष्ठ आएपछि थप काम खोज्नेदेखि काममा खट्नेसम्ममा रफ्तार बढ्यो ।
‘सुरुका एक–अर्काले काम गर्दाका अनुभव आदानप्रदान गथ्यौँ, कहिले गाली खान्थ्यौँ त कहिले वाहवाही पनि पाउँथ्यौँ’, श्रेष्ठले सुरुवाती दिन सम्झिँदै भने, ‘ती सबै कुरा बेलुकी अफिसमा आएर साथीबीच शेयर गथ्र्यौँ । यसरी नै हामीले धेरै कुरा सिक्दै गयौँ ।’
त्यो बेलासम्म उनीहरूको आफ्नो कम्पनी दर्ता थिएन । व्यवसायले बजार लिन थालेपछि कम्पनी दर्ता गर्नुपर्ने र अलिक व्यवस्थित हुनुपर्ने भयो । उनीहरूको टीम कम्पनी दर्ता गर्ने कागजपत्र मिलाउन जुट्यो । अनि बन्यो – अरेन्ज बल प्रालि !
अहिले उक्त कम्पनीमा श्रेष्ठ निर्देशक र झा प्रमुख कार्यकारी अधिकृत छन् । दुई जनाले आपसी सहमतिमै काम गर्दै आएका छन् । ‘म यो कम्पनी झाको सोलो कम्पनी हो भन्ने नै ठान्छु’, श्रेष्ठले भने, ‘म चाहिँ अहिले पनि आफूलाई सहयोगी पात्र नै मान्छु ।’
नेपालको लागि नयाँ भएको र अन्य व्यक्तिले नगरेकाले पनि अरेन्ज बलको व्यवसाय फस्टाइरहेको थियो । उनीहरूले मुख्यतः कीट नियन्त्रणसँग सम्बन्धित उडुस, उपियाँ, साङ्ला र भुसुना लगायत नियन्त्रण गर्न व्यवसायिक सेवा दिइरहेका थिए ।
त्यहीबीच सन् २०१९ देखि विश्वभर कोरोना महामारी फैलियो । विश्वभर कोरोना महामारी आयो । विश्वको अर्थतन्त्रसँगै झा र श्रेष्ठको व्यवसायमा पनि असर गर्यो । कामको डिमान्ड आउन छाड्यो । त्यसपछि उनीहरू नयाँ काम खोजीमा लागे । सरसफाइको काममा पनि जुटे ।
झाले गरेको अध्ययनअनुसार अहिले नेपालमा सरसफाइ व्यवसायको आकार तीन अर्ब रुपैयाँ नाघिसकेको छ । अरेन्जले पनि अहिले सरसफाइ व्यवसायबाट वार्षिक १५ देखि १७ लाख रुपैयाँ नाफा कमाइरहेको छ ।