काठमाडौं । छवि ओझासँग डिभोर्स र अंशबन्डाको प्रक्रिया समाप्त भएपछि अभिनेत्री शिल्पा पोखरेलले अहिले हलुका महसुस गरिरहेकी छन् । वर्षौंदेखि चलिरहेको मुद्दाले उनको निजी जीवन र करिअर प्रभावित भइरहेको थियो ।
शिल्पा र छविबीच अंशबन्डा भएको सन्दर्भ हालैमात्र मिडियाहरुमा सार्वजनिक भएको छ । जसअनुसार शिल्पाले गौरीघाटमा रहेको छविको अढाई तले पुरानो घरमात्रै अंशमा लिएकी छन् । यो घरको मूल्यांकन ४ करोड हुने छवि पक्षको दाबी छ । अदालतले आधा सम्पत्ति पाउने फैसला सुनाएको भए पनि लामो समय मुद्दा किनारा लाग्न नसकेपछि शिल्पाले छविसँग सम्झौता गरेकी हुन् ।
आफूले छविको सम्पत्तिको बढीमा पाँच प्रतिशतमात्रै लिएको शिल्पा बताउँछिन् । आज प्रकाशित एक अन्तर्वार्तामा उनले छविसँगको सम्बन्ध, डिभोर्स र अंशबन्डाबारे खुलेर बोलेकी छन् । आफूले लिएको घरको मूल्य मिडियामा आए जस्तो नभएको उनको दाबी छ । उनले सरकारी रेटअनुसार मूल्यांकन गरिनुपर्ने बताएकी छन् ।
शिल्पा भन्छिन्, ‘मेरो ऋणबाहेकको सम्पत्ति जति छ, त्यसको दुई प्रतिशतमात्र मैले लिएको हो । धेरै भन्नुपर्दा पाँच प्रतिशत । उहाँले व्यक्तिगत रुपमा लिएको ऋणको हिसाब अदालतमा हुँदैन र त्यसलाई मानिँदैन पनि । बैंकबाट लिएको लोनको मात्र मान्यता हुन्छ ।’
छविको १० करोड ऋण भएको कुरालाई पनि उनले भ्रामक बताइन् । शिल्पाको भनाइअनुसार डेढ(दुई करोड ऋणको आधा उनको भागमा परेको थियो ।