काठमाडौं। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलगायतको विरुद्ध मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध भोलि पुरक अभियोग दायर गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी रहेको छ।
बिहीबार १७ जनाविरुद्ध थप अभियोग पत्र दायर भएको छ। गितेन्द्रबाबु राईसहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दायर भइसकेको थियो। आजको थप अभियोगमा प्रतिवादी जिबी राईसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर पनि समावेश गरिएको छ।
पहिले नै मुद्दा दायर भइसकेकाहरुको कसुरमा आज थप कसुर र विगो थप गरेर अभियोग लगिएको र पुरक अभियोग भने भोलि दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछाने र जोशीलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गर्ने तयारी रहेको बताइएको छ।