काठमाडौं। हमासले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीमध्ये ३४ जनालाई अपहरण मुक्त गर्ने भएको छ। सन् २०२२ को अक्टोबर ७ मा सयौं सर्वसाधारण अपहरणमा परेका थिए।
प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलसँग युद्धविराम भएमा पहिलो चरणमा बन्दी रिहा गर्ने सूचना सार्वजनिक गरेको हो। सो समूहले दिएको ३४ बन्धकको सूचीमा इजरायली नागरिक मात्र रहेका बताइएको छ। तर इजरायल सरकारले भने यस विषयमा केही थाहा नभएको जनाएको छ।
यसअघि आफ्नो नियन्त्रणमा एक सय जना बन्दी रहेको सार्वजनिक जानकारी गराएको हमास समूहले पहिलो सूचीमा ती ३४ जना रिहा गरिने जनाएको हो।
दश जना महिलासहित ५० देखि ८५ वर्षसम्मका बन्धकलाई पहिलो चरणमा रिहा गर्न लागिएको तथा यसमा महिला, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकता दिइएको हमासले सूचनामा जनाएको छ।
सन् २०२२ को अक्टोबरमा हमासले गरेको सो आक्रमणमा परी १० जना नेपालीसहित एक हजारभन्दा बढीको ज्यान गएको थियो।
सोही हमलापछि हमासका लडाकुले नेपाली युवा विपिन जोशीलगायतलाई अपहरण गरेर प्यालेस्टिनी भूमितर्फ लगेका थिए।
नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक प्रयासलाई जारी राखेको छ। केही समय अघिको एक भिडियो फुटेजमा विपिन जीवितै रहेको सूचना नेपालले प्राप्त गरेको थियो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू नियुक्त भएलगत्तै नेपालका लागि इजरायलीदेखि सबै देशका राजदूतलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्। त्यसैगरी ती बन्दीको रिहाइका लागि मध्यस्थता एवं सहजीकरणको काम गरिरहेको कतार र इजिप्टसँग पनि उनले बारम्बार आग्रह गरिरहेकी छन्।
मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघीय ७९औँ महासभाका क्रममा आयोजित विभिन्न कार्यक्रममा विपिनको रिहाइका लागि पहल गरिदिन विश्व समुदायसँग पनि आग्रह गरेकी थिइन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका बेला उहाँले जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्वका नेता तथा प्रतिनिधिहरुसँग आग्रह गरेकी थिइन्।
साथै त्यहाँ आयोजित असंलग्न राष्ट्रको सङ्गठन नाम, जी–७७, जी–२० लगायतका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि पहल गरिदिन विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन्।
उनले नेपालस्थित इजरायल र कतारका राजदूतलाई समय समयमा बोलाएर विपिनको अवस्था, रिहाइका लागि भइरहेका पहल र अन्य आवश्यक जानकारी लिने काम गरिराखेकी छन्।
त्यसैगरी परराष्ट्र मन्त्रालयले मध्यपूर्वी देशमा रहेका नेपाली राजदूतलाई पनि कतार र इजिप्ट सरकारको सम्पर्क तथा समन्वयमा रहन र विपिनको रिहाइका लागि विशेष चासो लिएर आवश्यक पहलकदमीका साथ लाग्न निर्देशन दिएको जनाएको छ।