काठमाडौं। नेपाली कांग्रेसमा कोइराला परिवार तीनतिर बाँडिएको छ। अहिले शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइराला तिनतिर छरिएका छन्। १४औं महाधिवशेनमा यी तिनै जना नेता तीन बेग्लाबेग्लै कित्तामा उभिए । जसको कारण शेखरले सभापतिमा शेरबहादुर देउवासँग पराजय भोग्नुपरेको चर्चा छ।
तर, १५औं महाधिवेशन नजिकिएसँगै यी तीन नेताबीच सम्बन्धमा उल्लेख्य सुधार आएको छ। सुजाताले नै शेखर र शशांकलाई एउटै कित्तामा उभ्याउने कडा मेहनत गरेकी छिन्। कहिले सँगै डिनर त कहिले लञ्च गराएर उनले शेखर र शशांकबीच सम्बन्ध सुधारको लागि सेतुको काम गरेकी छिन्। अहिले संसद्मा सुजाताको प्रतिनिधित्व छैन। उनी ०७९ को निर्वाचनमा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भईन् । तर, शेखर र शशांक दुवै सदनमा प्रतिनिधित्व गर्छन्।
पार्टीको १५औं महाधिवेशनमा शेखरले पूनः भिड्ने तयारी गरिसकेका छन्। शशांकको साथ पाउने हो भने शेखरले सभापतिमा बाजी मार्ने सुजाताको बुझाइ छ। यसैले उनले आफूसहित तीनै जना कोइराला परिवारका नेता एक ठाउँमा उभिनसके नेतृत्व कोइराला परिवारमा आउने विश्वास लिएकी छिन्।
शशांकले भने सभापति शेरबहादुर देउवासँग दोस्ती बढाएका छन्। यस्तो बेलामा सुजाताले कोइराला परिवार एक ठाउँमा उभिनुपर्ने र शेखरलाई सघाउनुपर्ने मत राखेको उनीनिकट विश्वस्त स्रोतको दाबी छ। शेखरको कित्तामा अहिले देउवा पक्षधर नेताहरुपनि खुल्न थालेको चर्चा चलेको छ।
सभापतिमा शेखर समूहका नेता गगन थापाले पनि उम्मेद्वारी हल्ला छ । गगन यतिवेला देउवा क्याम्पमा पुगेको पनि त्यत्तिकै चर्चा छ। शेखर समूहबाटै महामन्त्रीमा लोकप्रिय मतसहित जितेका गगनले पछिल्लो समय शेखरको साथ छोडेको भन्दै कोइराला पक्षधर नेताहरु असन्तुष्ट छन्।
महाधिवेशन निर्धारित समयमा नै हुनुपर्ने शेखरको अडान छ । सभापति देउवाले पनि तोकिएकै मितिमा महाधिवेशन हुनेमा शंका नगर्न भनेका छन् । १५औं महाधिवेशनमा देउवाले आफ्नो समूहबाट कसलाई सभापतिमा अघि सार्छन् त्यो हेर्न बाँकी रहेको देउवा पक्षधर नेताहरुको भनाई छ ।
उनीहरु अहिलेसम्म देउवाले आफ्नो उत्तराधिकारी को हुने ? भनेर मुख खोलेका छैनन् । तर, देउवा पक्षधर नेताहरु गगनलाई आफ्नो गुटमा सर्वस्विकार्य नेता मान्न तयार नभएको चर्चा अहिले नै चलिसकेको छ । बालकृष्ण खाँण, विमलेन्द्र निधि, मोहनबहादुर बस्नेतले १५औं महाधिवेशनमा कित्ता परिवर्तन गर्नसक्ने चर्चा चलिरहेको छ ।
१५औं महाधिवेशनलाई ध्यानमा राखेर सुजाताले भने कोइराला परिवार एक ठाउँमा उभिनुपर्ने मत राख्न थालेकी छिन् । उनले आफ्नो सक्रियता र भेटवार्तालाई पनि त्यसमै बढि उपयोग गरिरहेकी छिन् । उनले शशांकलाई विश्वास लिएर शेखरको पक्षमा उभ्याउन प्रयत्न गरेको बुझिएको छ ।