भैरहवा। थाइल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले एयरबस ए–३२० बाट भैरहवामा परिक्षण उडान गरेको छ। लामो समयदेखि प्रतिक्षमा रहेको भैरहवा स्थित गौतमबुद्व विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु भएपछि उत्साह जागेको छ । कार्तिक २३ गतेदेखि नियमित हप्ताको २ वटा व्यवसायिक उडान गर्ने कम्पनिले आज आइतबार विहान ७ बजे चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
हप्तामा २ वटा उडान गर्ने तालिका तय भएपछि परिक्षणका लागि विमान भैरहवा आएको हो । विमानलाई भैरहवामा पानीको फोहोरले स्वागत गरिएको थियो । केही बेरको बसाईपछि विमान बिहान ७ः४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।
‘यो तालिका अनुसारकै फ्लाईट हो । अर्को उडान अब कार्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहिबारदेखि हप्ताको दुई दिन सोमबार र बिहिबार दिउँसो १२ः१५ यहाँ अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि उडान भर्नेछ ।’ राउतले भने
थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । भैरहवा विमानस्थलबाट उडान गर्नका लागि केही दिन अघि मात्रै अनुमति पाएको थियो । थाई एयर एसियाले भैरहवाबाट उडान गर्ने प्रतिबद्धतासँगै काठमाडाँैमा पुनःउडान सुरु गर्न अनुमति पाएको छ । भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको छ ।
यहाँबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले पनि उडान गर्न लागेका छन् । फ्लाई दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक रुपमा र कुवेतको जजिरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेको छ ।
सूचना अधिकारी राउतका अनुसार फलाई दुबई दैनिक १ः४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने र यहाँबाट २ः४५ बजे काठमाडौं हुँदै दुबई जानेछ । त्यस्तै यस अघि पनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिवार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ ।