निगमका दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा

निगमका दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा

काठमाडौं। नेपाल वायुसेवा निगमले आफ्ना दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा रहेको जनाएको छ।

निगमको अन्तर्राष्ट्रिय उडानमा एअरबसले निर्माण गरेका ए ३२०-२०० सेरिजका दुई न्यारो बडी र ए ३३०-२४३ सेरिजका दुई वाइडबडीका विमान रहेका छन्।

निगमले न्यारो बडी नाइन एन एकेएक्स संकेत चिन्हको लुम्बिनी र नाइन एन एकेडब्ल्यु संकेत चिन्हको सगरमाथा जहाज दुवै उडानमा रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

नाइन एन एएलवाई संकेत चिन्हको अन्नपूर्ण नामक वाइड बडी र नाइन एन एएलजेड संकेत चित्हको मकालु विमानहरु भने नियमित सी चेकको लागि इटालीमा रहेका छन्।

निगमले वाइड बडीको नियमित मर्मत संभारको लागि इटालीको एमआरओलाई चयन गरेको छ। त्यस मध्ये अन्नपूर्ण (नाइनएन एएलवाई) विमान आगामी सेप्टेम्बर ७ मा मर्मतसंभार सकेर नियमित उडानका लागि नेपाल आइपुग्ने निगमले जानकारी दिएको छ।

निगमको अर्को वाइड बडी जहाज नाइन एन एएलजेड (मकालु) भने २८ अगष्टमा मात्र सी चेकको लागि इटाली गएकोले सो जहाज आउन भने करिब एक महिना लाग्ने छ । निगमले दशैं अगावै अन्तर्राष्ट्रिय उडान गर्ने चारै वटा विमानहरु पूर्ण क्षमतामा चल्ने अवस्था आउने पनि जनाएको छ।

निगमले आन्तरिक उडानमा रहेका दुई ट्वीनओटर मध्ये एक जहाज नियमित उडानमा रहेको र अर्को एकको इञ्जिन फेर्ने कार्य भैरहेकोले सो जहाज दशैमा उडानमा आउने जानकारी दिएको छ।

निगमले आफ्ना जहाजहरुको सामान्य मर्मत संभार नियमित रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ह्यांगरमा हुँदै आएको र त्यहाँ अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षण संस्थाबाट एरोनौटिकल इञ्जिनियरिड. पास गरेका र अन्तर्राष्ट्रिय तालिम दिने संस्थाका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत मान्यता दिएका इञ्जिनियरहरुले मर्मतसंभारको काम गर्ने पनि जानकारी दिएको छ।