बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु

बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु

जनकपुरधाम । महोत्तरीमा बालुवा झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर स्थानीय १३ वर्षीय रिदम अधिकारीको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

डीएसपी जयसवारका अनुसार शनिबार बिहानै घरबाट निस्केका रिदम अबरेसम्म नफर्किएपछि परिवारजनले खोजबिन सुरु गरेको थियो । उनको शव खाल्डोमा डुबेको अवस्थामा आइतबार दिउँसो साढे दुई बजेतिर फेला परेको हो ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।