काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहान पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन् ।
सपथ लिएसँगै आचार्यले मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले कांग्रेसका र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् ।दुई दलबीच कुन मन्त्रालय लिने भन्नेबारेमा अझै सहमति नजुटेपछि आचार्यले विनाविभागिय मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री भएका छन् । कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ । त्यस्तै एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु र सिता शर्मा मन्त्री भएका हुन् ।
आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरुलाई भोलिसम्ममा मन्त्रालयको जिम्मेवारी तोकिने आचार्यले बताए । हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ ।