पति रेशम चौधरीविरुद्ध रञ्जिता श्रेष्ठद्वारा कानुनी प्रक्रियाको घोषणा: यो प्रतिशोध होइन, छोरा र आत्मसम्मानका लागि हो

पति रेशम चौधरीविरुद्ध रञ्जिता श्रेष्ठद्वारा कानुनी प्रक्रियाको घोषणा: यो प्रतिशोध होइन, छोरा र आत्मसम्मानका लागि हो

धनगढी। नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठले आफ्ना पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले छोराको अधिकार, भविष्य र आफ्नो आत्मसम्मानका लागि कानुनी प्रक्रियामा अघि बढेको स्पष्ट पारेकी हुन्।

लामो समयको मौनतापछि कानुनी कदम चालेको बताउँदै श्रेष्ठले लेखेकी छन्, “यो कदम कसैप्रति प्रतिशोध लिन वा अपमान गर्नका लागि होइन। आफूले भोगेका विषयहरू प्रमाणसहित सम्बन्धित निकायसमक्ष राख्नु मेरो अधिकार हो।” परिवारको मर्यादा र आफ्नै संस्कारका कारण यत्तिका वर्ष मौन बसेको उनले उल्लेख गरेकी छन्।

विशेषगरी छोराले बुबाको माया, साथ र जिम्मेवारी पाउनुपर्ने उमेरमा त्यसको अभाव महसुस गर्दा आफूलाई निकै पीडा भएको उनले पोखेकी छन्। “बुबा हुनु केवल एउटा नाता वा नाम मात्र होइन, सन्तानप्रतिको जिम्मेवारी पनि हो,” उनले भनिन्, “छोराको मनमा बुबाप्रति घृणा नजोगियोस् भनेर सधैं आफ्ना आँसु लुकाएर उसका प्रश्नको सामना गरेँ, तर अब उसैको भविष्य र आत्मसम्मानका लागि उभिएकी छु।”

आफूले कसैलाई दोषी घोषणा नगरेको र त्यो अधिकार कानुनको रहेको बताउँदै उनले सामाजिक सञ्जालको बहसभन्दा प्रमाण र कानुनका आधारमा विषय टुङ्गिनुपर्ने धारणा राखिन्। “म कसैको जीवन बिग्रियोस् वा कोही जेल परोस् भनेर चाहन्नँ, तर कानुनविपरीत काम भएको रहेछ भने त्यसको परिणाम सामना गर्नु नै पर्छ,” श्रेष्ठले थपिन्, “मेरो मौनतालाई कसैले सहमति नठानियोस्; म शान्त भए पनि कमजोर छैन।”

सामाजिक सञ्जालमा अब हरेक शब्दको जवाफ नदिने र आफ्ना कुरा सम्बन्धित कानुनी निकायमै राख्ने उनले बताएकी छन्। यद्यपि, उनले कुन विषयलाई लिएर कस्तो किसिमको कानुनी बाटो रोजेकी हुन् भन्ने कुरा भने स्पष्ट पारिसकेकी छैनन्।