प्रधानमन्त्री र मैले काम बाँडेका छौं, हामीबीच कुनै समस्या छैन : रवि लामिछाने

प्रधानमन्त्री र मैले काम बाँडेका छौं, हामीबीच कुनै समस्या छैन : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच कामको स्पष्ट बाँडफाँड भएको बताएका छन्। सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहले र पार्टीको जिम्मेवारी आफूले सम्हाल्ने गरी काम विभाजन गरिएको उनले स्पष्ट पारे।

प्रधानमन्त्रीले विपत् व्यवस्थापनका विषयमा बेवास्ता नगरेको सभापति लामिछानेले बताए। प्रधानमन्त्री निरन्तर बैठकमा सहभागी भइरहेको र स्थानीय राजनीतिज्ञ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भेटेर समन्वय गरिरहेको उनले जानकारी दिए।

‘हिजोको अभ्यास र आजको अभ्यासमा पक्कै फरक छ। अहिले पार्टीको सभापति र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने कुरा स्पष्ट छ। त्यही कुरा भइरहेको छ,’ उनले भने।
आफूहरूबीच कुनै समस्या रहेको देखाउनेगरी प्रश्न नगर्न सञ्चारकर्मीलाई उनको आग्रह छ। ‘हामीले काम बाँडेका छौं। हामीबीच कुनै समस्या छ कि भन्ने प्रश्न डम्प गर्नुभए हुन्छ।’

उनले सबैले आ-आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको र त्यसका लागि सम्बन्धित सबैसँग समन्वय भइरहेको बताए। सरकारले उद्धार कार्यमा जोडतोडका साथ तदारुकता देखाएको दाबी गर्दै लामिछानेले अहिले राहत वितरणको काम भइरहेको बताए। भौगोलिक जटिलताका कारण राहतका क्रममा केही कठिनाइ र कमीकमजोरी हुन सक्ने उनको भनाइ छ।

‘हरेक दिन हरेक जिम्मेवार मान्छेले नतिजामुखी काम गरिरहेका छन्,’ उनले भने।  सरकारमा गुण्डागर्दी चलिरहेको भन्ने आरोपबारे भने सम्बन्धित माननीयलाई नै सोध्नुपर्ने उनको भनाइ छ। 

सरकारका कामकारबाही सार्वजनिक भइरहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक पार्टी भएकाले व्यक्तिपिच्छे शैली फरक हुन सक्ने र कतिपय विषयमा असन्तुष्टि हुन सक्ने बताए।