विपत् र उद्धारलाई प्राथमिकता दिँदै ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठद्वारा दक्षिण कोरिया भ्रमण रद्द

विपत् र उद्धारलाई प्राथमिकता दिँदै ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठद्वारा दक्षिण कोरिया भ्रमण रद्द

काठमाडौं।। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो पूर्वनिर्धारित दक्षिण कोरिया भ्रमण रद्द गरेका छन्। मुलुकमा आएको प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिका कारण उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै उनले यो निर्णय लिएका हुन्।

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले जलविद्युत् आयोजना तथा पूर्वाधारहरूमा गम्भीर क्षति पुर्‍याएको छ। अझै पनि धेरै नागरिक सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा मन्त्रालयकातर्फबाट प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी छ।

साथै, क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना गर्ने, प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित तथा व्यवस्थित बनाउने, मारमा परेका निजी ऊर्जा उद्यमीहरूलाई सहजीकरण गर्ने र विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानको कामलाई तीव्र रूपमा अगाडि बढाउनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गरेका हुन्।

दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मन्त्री श्रेष्ठलाई मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएको थियो।

उक्त सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठका साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोलीको भ्रमणलाई गत साउन १३ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो।