काठमाडाैं। नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने मुख्य जिम्मेवारी सरकारकै हुने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तापक्षबाटै पटक-पटक सदनको मर्यादामा आँच आउने व्यवहार भइरहेको भन्दै कडा आपत्ति जनाए।
सदनको मर्यादा जोगाउने दायित्व प्रतिपक्षको मात्रै हो कि भनेर प्रश्न गर्दै सांसद महरले भने, "प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको दायित्व हो, तर यसमा सबैभन्दा बढी जिम्मेवारी सरकारको हुन्छ। हामीले पटक-पटक आग्रह गर्दा पनि सत्तापक्षबाटै सदनको मर्यादामा आँच आउने कार्यशैली र व्यवहार प्रकट भइरहेको छ।"
संसदीय नियमको प्रसङ्ग उठाउँदै महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ मा सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था रहेको स्मरण गराए। तर, सांसद युवराज दुलाल बोलिरहेका बेला गृहमन्त्री त्यसैगरी बीचबाट हिँडेको उल्लेख गर्दै उनले नियमको पालना गर्न आग्रह गरे।
कहिले प्रधानमन्त्री त कहिले गृहमन्त्री स्वयंले नियमावलीको उल्लङ्घन गर्ने गरेको आरोप लगाउँदै सांसद महरले संसद्को नियम र स्थापित मर्यादाप्रति सरकारलाई गम्भीर र जिम्मेवार बन्न ध्यानाकर्षण गराए।