मन्त्रीहरूलाई ‘अलर्ट’ रहन ओलीको निर्देशन, आजै राजीनामा आउन सक्ने

मन्त्रीहरूलाई ‘अलर्ट’ रहन ओलीको निर्देशन, आजै राजीनामा आउन सक्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई ‘अलर्ट’ रहन निर्देशन दिएका छन्।

नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनाउने चर्चा भइरहेका बेला ओलीले आफ्ना मन्त्रीहरूलाई ‘अलर्ट’मा रहन निर्देशन दिएका हुन्। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच बालुवाटारमा छलफल चलिरहेको छ। प्रधानमन्त्री दाहालसँगको कुराकानी आफू अनुकूल हुन नसकेमा ओलीले आफ्ना मन्त्रीहरूलाई आजै राजीनामा गराउन सक्ने स्रोतले बताएको छ।

एमालेबाट सरकारमा सहभागी एक मन्त्रीका अनुसार उनीहरूलाई आज सोमबार टाढा नजान निर्देशन दिएका छन्। ती मन्त्रीका अनुसार ओलीले साँझ साढे ६ बजे आफ्नो केही कुरा भन्ने बताएका छन्।

ओलीको उक्त निर्देशनपछि एमालेका मन्त्रीहरू दिनभर मन्त्रालयमै बसिरहेका छन्। ओलीको सोही निर्देशनका कारण एमालेका सांसद्हरू संसद्‌हरु उपस्थित नहुँदा आजको संसद बैठक समेत अवरोध भएको थियो।

आजको संसद् बैठको सुरूमा एक जना पनि मन्त्री उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भई पछि पुन:सुरू भएक‍ो थियो।