नेपालका प्रशिक्षक मोन्टी देसाइ भन्छन्–'क्रिकेट कहिले काहीँ निर्दयी हुन्छ, हिजो त्यस्तै भयो'

नेपालका प्रशिक्षक मोन्टी देसाइ भन्छन्–'क्रिकेट कहिले काहीँ निर्दयी हुन्छ, हिजो त्यस्तै भयो'

काठमाडाैँ । टी -२० विश्वकप अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित भयो । ठूलो खेलमा प्रेसर ह्याण्डल गर्न नसक्दा नेपालले मुखैमा आईपुगेको खेल गुमायो । नेपाली टोली त्यो नमिठो हारको पीडाबाट बाहिर आउन सकेको छैन् ।

आईतवार राति बंगलादेशविरुद्ध हुने अन्तिम खेल अघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक मोन्टी देसाइको भाव भंगीमा, प्रस्तुति र आँखाले त्यो बयान गरिरहेको थियो । उनको गला अवरुद्ध थियो भने आँखा टिलपिलाई रहेका थिए । सबै कुरा उनको अनुहारले बोलिरहेको थियो तर पनि उनले पत्रकार सम्मेलनमा खुलेरै भने, हारको पीडाबाट बाहिर आउन गाह्रो भैरहेको छ । ’ तर त्यो खेलपछि दक्षिण अफ्रिकाको जित भन्दा नेपालको हारको विश्वव्यापी चर्चा छ ।

आईसीसीदेखि क्रिकेटका दिग्गजहरुले नेपालको खेलको निकै प्रशंसा गर्दै प्रदर्शनमा, गर्व गर्न र शिर उँचो पारेर हिंड्न सुझाव दिएका छन् । नेपालले आफू भन्दा निकै बलियो दक्षिण अफ्रिकालाई हराउँदो हो त विश्व क्रिकेटमा के हुन्थ्यो सहजै अनुमान लगाउन सकिन्छ । तर हारका बाबजुद नेपाली क्रिकेटले विश्व क्रिकेटमा एउटा छाप छोडेको छ । र, त्यो प्रशिक्षक मोन्टी देसाई पनि मान्छन् । उनले नेपाली टिमको प्रदर्शनप्रति आफूलाई गर्व रहेको बताए ।  ‘म गौरवान्वित छु खेलाडिले विश्वकपमा आफ्नो पदचिन्ह छोडेका छन, म खुशी छु । त्यसकारण म खुशी छु । ’ उनले भने, कहिले काहीँ क्रिकेट निर्दयी हुन्छ, हिजो त्यस्तैै भयो । हामी प्रतिस्पर्धामा थियौं, दक्षिण अफ्रिकाले हाम्रो मानसिकताको परीक्षण गर्यो । 

दक्षिण अफ्रिकासँगको हारपछि प्रशंसकहरु निकै पीडामा छन्, आर्नोस भाले रंगशालामा उपस्थित नेपाली क्रिकेट समर्थक होउन वा नेपालसहित विश्वका अरु देशमा रहेका किन नहोईन, सबैलाई हार भुल्न गाह्रो भैरहेको छ । प्रशिक्षक मोन्टीले प्रशंसकहरुलाई टिममाथिको भरोसा र समर्थन कायम राख्नु अनुरोध गरे ।‘हाम्रो युवा टिम सीमित स्रोत र साधनका बिचमा खेलिरहेको छ, यसलाई समर्थन गरिराख्नुस् ।’ यसो भनिरहँदा उनले सधैं एक्सक्यूज हुनुपर्छ भन्ने आफ्नो आशय नभएको पनि प्रष्टिकरण दिए । 

नेपाल एकातिर हारको पीडामा छ भने अर्कोतिर आईतवार रातिअर्को टेष्ट टिम बंगलादेशसँग अन्तिम खेल खेल्नुछ । त्यसो त खेलमा हार जित भैरहन्छ, तर मुठ्ठीमा आईसकेको जित फुत्किँदा टिम, सिगो नेपाल र नेपालीलाई भुल्न गाह्रो भैरहेको छ । तर पनि समय छैन, अर्को लडाईंको तयारी गर्नुछ । दक्षिण अफ्रिकासँग हार्यौं, पीडाबाट बाहिर आउन त गाह्रो भैरहेको छ, तर हामीसँग समय छैन । बंगलादेशसँगको खेलका लागि तयारी गर्नुछ । ’नेपाल अन्तिम खेल खेल्दैछ र नेपालले गुमाउनु पर्ने केही छैन, त्यसैले खुलेर खेल्ने र जितका लागि खेल्ने प्रशिक्षक मोन्टी बताउँछन् । ‘हामी जितका लागि खेल्नेछौं र त्यसै अनुसार तयारी गर्नेछौं । उत्कृष्ट टिम उतार्ने छौं ।’ उनले भने । टिममा केही फेरबदलको चर्चा चलिरहेका बेला उनले मौका दिनका लागि मात्रै फेरबदल नगर्ने र परिणामलाई ध्यान दिएर नै प्लेइङ ११ छनौट गर्ने उनले बताए । 

दक्षिण अफ्रिकासँगको हारले पीडा दिए पनि नेपाली टिम माथि उठ्दै जाने उनले बताए । नेपाली क्रिकेट टिमसँग क्षमता रहेको र यो केही वर्षमै माथि जाने पनि प्रशिक्षक मोन्टीको विश्वास छ । हामीसँग पोटेन्सियल छ हामी फाईट गर्नेछौं ।’ मोन्टीले भने, योजना अनुसार काम भयो भने हामी ४–५ वर्षमै माथि जानेछौं । हामीले जितको रेखा क्रस गर्नेछौं ।’