प्रचण्ड सरकारका  दुई मन्त्रीको पद धरापमा

प्रचण्ड सरकारका  दुई मन्त्रीको पद धरापमा

काठमाडौँ । सङ्घीय सरकारबाट मन्त्री फिर्ता बोलाउने चर्चासँगै माओवादी केन्द्रका हितबहादुर तामाङ र एमालेका बलराम अधिकारीको पद 'डेन्जर जोन'मा देखिएको छ ।

गत फागुन २१ गते एमालेसहितको नयाँ समीकरण बनेपछि एमालेले सरकारमा अघिल्लो वर्षकै सेट पठाएको थियो । तामाङ सोही दिन मन्त्री भएका थिए । मन्त्री भएको तीन महिनापछि तामाङको पद धरापमा पर्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गरेका दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई सरकारमा ल्याउने विषयमा केही दिनयता गठबन्धन दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

जेठ २२ गते गठबन्धनको मुख्य दल एमालेका अध्यक्ष केपी ओलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नाउपा र जपालाई सरकारमा समेट्न एक/एक जना मन्त्री फिर्ता बोलाउने प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्रीको प्रस्तावमा ओली सकारात्मक देखिएका थिएनन् ।

नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैँ सरकारमा जाने तयारीमा छिन् । जपाबाट अध्यक्ष सीके राउतले नेतृत्व गर्ने कि अन्यलाई पठाउने भन्नेमा कुनै निर्णय नभएको उपाध्यक्ष दीपक साहले बताए । यद्यपि बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिचको भेटवार्ता सकारात्मक भएको एमाले र माओवादीका नेताहरूले दाबी गरेका छन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारलाई समर्थन गरेका दलहरूलाई समेट्ने विषयमा प्रचण्ड र ओली सकारात्मक भएको जिकिर गरे । ‘सरकारलाई समर्थन गरेका दलहरूलाई समेट्ने विषयमा हिजोको बैठक सकारात्मक छ । एमाले र माओवादीबाट एक/एक जना मन्त्री फिर्ता बोलाउने विषयमा सहमति नजिक पुगेको छ । तर कुनै निष्कर्षमा पुगेको छैन’, पौडेलले भने ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि मन्त्री फिर्ता बोलाउने विषयमा प्रचण्ड र ओलीबिच कुनै विवाद नभएको दाबी गरे । सरकारलाई समर्थन गरेका दलहरूलाई सरकारमा ल्याउने विषयमा सहमतिको बिन्दु खोज्नेतर्फ बैठक सकारात्मक भएको उनले बताए । ‘मन्त्रालय सीमित छ । सरकारलाई समर्थन गरेका दलहरूलाई समेट्न कतै न कतै सहमति खोज्नुपर्छ । मन्त्री फिर्ता बोलाउने विषयमा बैठक सकारात्मक छ । कुन दलबाट कसलाई फिर्ता बोलाउने सवालमा कुनै सहमति भएको छैन’, बर्तौलाले भने ।

स्रोतका अनुसार माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङ र एमालेबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी छ । मन्त्री तामाङलाई फिर्ता बोलाएर श्रेष्ठलाई पर्यटन मन्त्री बनाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।

‘एमाले र माओवादीबाट एक/एक मन्त्री फिर्ता बोलाउन दुवै दल सकारात्मक छन् । एमालेबाट भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र माओवादीबाट हितबहादुर तामाङलाई फिर्ता बोलाउने तयारी छ । यद्यपि छलफलकै क्रममा रहेकाले निष्कर्षमा पुगेको छैन । आ–आफ्ना पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्नेछौँ’, स्रोतले भन्यो ।

आफूलाई सरकारबाट फिर्ता बोलाउन लागिएको विषयमा मन्त्री तामाङले प्रधानमन्त्रीसँग चासो व्यक्त गरेको बुझिएको छ । मन्त्री तामाङले चासो राख्दा प्रधानमन्त्री प्रचण्डले रञ्जिता श्रेष्ठबाट लगातार दबाब दिइरहेकाले पर्यटन मन्त्रालय दिने बचन दिएको र तामाङलाई केही न केही व्यवस्थापन गरिदिने बचन दिएको स्रोतले बतायो ।