बदलिएको कांग्रेसले मात्रै देश बदल्न सक्छ: सभापति गगन थापा

बदलिएको कांग्रेसले मात्रै देश बदल्न सक्छ: सभापति गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा नयाँ ऊर्जा र दृढ संकल्पका साथ अघि बढ्दै 'बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ' भन्ने विश्वास जनतामा जगाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महाधिवेशनलाई केवल नेतृत्व चयनमा सीमित नराखी पार्टीको विगत, वर्तमान र भावी दिशाको गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।

"बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर हामी महाधिवेशनबाट जानुपर्ने छ," थापाले भने, "यो महाधिवेशनलाई सफल पारेर नयाँ ऊर्जाका साथ अघि बढ्नु हाम्रो दायित्व हो।"

सम्बोधनका क्रममा थापाले रसुवामा बाढीपहिरोका कारण हजारौँ नागरिकले ज्यान गुमाएको र धेरै परिवार पीडामा रहेको स्मरण गर्दै यस्तो अवस्थामा महाधिवेशन उत्सवका रूपमा मनाउन नसकिएको र संवैधानिक बाध्यताका कारण मात्र आयोजना गरिएको बताए।

राजनीतिमा 'म्युजिकल चियर' र असन्तुष्टिको समीक्षा

लामो समयदेखि एउटै नेतृत्व र पदको वरिपरि राजनीति घुमिरहँदा जनतामा असन्तोष बढेको स्वीकार गर्दै उनले भने, "म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो।" समाजमा अत्यधिक राजनीतीकरण र असन्तुष्टि बढ्दा भदौ २३ र २४ को घटनाक्रम सिर्जना भएको विश्लेषण गर्दै उनले कांग्रेसले आफूलाई सम्हाल्दै विशेष महाधिवेशनमार्फत सच्चिने प्रयास गरेको र त्यसपछिको निर्वाचनमा जनताको फैसला स्वीकार गरेको बताए।

'डेमोक्रेसी र डेलिभरीको पुल कांग्रेस हो'

३५ वर्षको अवधिमा राजनीतिक परिवर्तन भए पनि गाउँ रित्तिने र युवा पलायन हुने स्थिति नरोकिएको भन्दै उनले अब कांग्रेसले रोजगारी र उत्पादनमा जोड दिनुपर्ने बताए। "डेमोक्रेसी (लोकतन्त्र) र डेलिभरी (सेवा प्रवाह) बीचको पुलको काम कांग्रेसले गर्छ, त्यो पुल ढल्यो भने जनताको विश्वास ढल्छ," उनले भने। सिद्धान्तमा सम्झौता गरेर क्षणिक लाभ नलिने स्पष्ट पार्दै थापाले भने, "हामी सिद्धान्तमा अडिनुपर्दा चुनाव हार्न तयार छौँ, तर मर्मसँग सम्झौता गर्दैनौँ।"

खुलामञ्चको सन्देश र आन्तरिक लोकतन्त्र

१० वर्षपछि खुला गरिएको काठमाडौंको खुलामञ्चलाई लोकतान्त्रिक संवादको प्रतीक मान्दै उनले नेतालाई प्रश्न गर्दा कारबाही नहुने राजनीतिक वातावरण निर्माण हुनुपर्ने बताए। संसद्, सरकार र पार्टीभित्र सबै तहमा जनताका प्रश्न सुन्ने थलो खुला रहनुपर्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा थापाले महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको भए पनि उहाँ उपस्थित नभएको प्रसङ्ग उल्लेख गर्दै पार्टी छोडेर गएका नेताहरूबारे पनि अब प्रस्ट दृष्टिकोण बनाउनुपर्ने बताए।

त्यस्तै, उद्योगी-व्यवसायीलाई कर उठाउने स्रोत मात्र नभई आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिँदै थापाले निराशा र निन्दाको राजनीति छाडेर कर्म र नतिजाबाट कांग्रेसको पहिचान स्थापित गर्न सबै कार्यकर्तालाई आह्वान गरे।

छुटाउनुभयो कि ?