काठमाडौँ । नेकपा (एमाले)का असन्तुष्ट नेता एवं पूर्वउपाध्यक्ष डा.भीम रावलले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने सोच नभएको बताएका छन् ।
एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला गलत प्रचारका लागि भइरहेको भन्दै उनले एमाले छोड्ने वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको बताएका हुन् । वैशाखको दोस्रो साता ललितपुरको गोदाबारीमा बसेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रवेश पास नबनाएकोमा उनले आक्रोश पोखेका थिए । आफूमाथि निषेधको राजनीति भएको आरोप लगाउँदै विकल्प खोज्नुपर्ने स्थितिमा पुगेको बताएका थिए ।
कामको सिलसिलामा गृह जिल्ला अछाम पुगेका उनले एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला निराधार भएको बताए । ‘एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी भएको भए उत्पादन भाइरल हुन्थ्यो होला । केही घोषणा वा वक्तव्य आउँथ्यो होला । म अहिले अछाममा छु । एमालेको कार्यकर्ता भेला र कार्यक्रममा सहभागी भइरहेको छु । पार्टी प्रवेश बेकारको हल्ला हो । त्यस्तो अहिले त्यस्तो कुनै सोच छैन’, उनले भने ।
२०७८ मङ्सिरमा चितवनको सौराहमा भएको १० औं महाधिवेशनमा अध्यक्षका लागि केपी ओलीसँग प्रतिस्पर्धा गरेका रावलले त्यसयता पार्टीको केन्द्रीय पदको जिम्मेवारी लिएका छैनन् । अध्यक्षमा उम्मेदवारी दिएकै कारण आफूमाथि ओलीले निषेधको राजनीति गरेको उनको गुनासो गर्दैआएका छन् । यता एमालेबाट अलग भएको साढे दुई वर्षमा एकीकृत समाजवादीले १० औं महाधिवेशनको तयारी गरेको छ । महाधिवेशनअघि नै रावलाई महत्त्वपूर्ण जिम्मेवारी दिने गरी पार्टीमा ल्याउन शीर्ष नेताहरूले पहल गरेका थिए ।