टी-२० विश्वकप क्रिकेट : सुपर ओभरमा नामिबियाले ओमानलाई हरायो

टी-२० विश्वकप क्रिकेट : सुपर ओभरमा नामिबियाले ओमानलाई हरायो

काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा नामिबियाले ओमानलाई पराजित गरेको छ।  सोमबार बिहान भएको खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो। 

सुपर ओभरमा डेविड विजी र कप्तान गेहार्ड इरास्मसले ब्याटिङ गरेका थिए। विजीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गरे। तेस्रो बलमा २ रन लिए। चौथो बलमा एक रन लिँदै कप्तान इरास्मसलाई स्ट्राइक दिए।

कप्तान इरास्मसले पाँचौं र छैटौं बलमा चौका प्रहार गरेपछि नामबियाले ओमानलाई जितका लागि २१ रनको लक्ष्य दिएको थियो। जवाफमा ओमानले १० रन मात्रै बनाउन सक्यो।

त्यसअघि ११० रनको लक्ष्य पछ्याएको नामिबियालाई जितका लागि अन्तिम बलमा २ रन आवश्यक थियो। डेविड विजीले खतरा मोलेर एक रन लिएपछि खेल सुपर ओभरमा पुगेको थियो। 

११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाका लागि जान फ्रिलिंकले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बलमा ६ चौका प्रहार गरे। निकोलस डेभिडले ३१ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन जोडे।

कप्तान गेहार्ड इरास्मसले १६ बल खेलेर १३ रन मात्रै जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ ओमानका मेहरान खानले ३ तथा बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा समेटिएको थियो। ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले ४ विकेट लिए।

डेविड विजीले ३,  गेहार्ड इरास्मस २ र बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए। ओमानका खालिद कैलले ३९ बलमा १ चौका र १ छक्का प्रहार गरी ३४ रन बनाए।

जिशन मक्शुदले २० बलमा २२ रन जोड्दा आयान खानले १५ रनको योगदान गरे। अन्य ब्याटरले रन जोड्न सकेनन्।ओपनर काश्यप प्रजापति र कप्तान अकिब इलियास शून्यमा आउट हुँदा नशीम खुशी ६, मोहम्मद नदीम ६, मेहरान खान ७ र शकील अहमद ११  र कलिमउल्लाह २ रन बनाएर आउट भए।