पूर्वराष्ट्रपति भण्डारीको सक्रियता

पूर्वराष्ट्रपति भण्डारीको सक्रियता

काठमाडौं। ‘लोकतन्त्र र आमसञ्चारको अन्योन्याश्रित सम्बन्ध हुन्छ। जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन्,’ शनिबार नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्दै पूर्वराष्ट्रति विद्यादेवी भण्डारीले भनिन्, ‘पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ।’

एक सातामा उनी सहभागी यो दोस्रो सार्वजनिक कार्यक्रम हो। यसअघि गत बुधबार उनले नेकपा (एमाले) को महिला भेलामा अर्थपूर्ण सहभागिता जनाएकी थिइन्। एमालेको औपचारिक कार्यक्रममा उनी नौ वर्षपछि पहिलोपटक सहभागी भएकी थिइन्। भेलामा उनी नै प्रमुख अथिति थिइन्। भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली विशेष वक्ता थिइन्। भेलाको आयोजना एमाले जनसंगठन समन्वय संयन्त्रले गरेको थियो।

पार्टीको औपचारिक कार्यक्रममा प्रमुख वक्ता बनेर पूर्वराष्ट्रपति भण्डारी सहभागी हुनुलाई चासोका साथ हेरिएको छ। किनकि दुईपटक राष्ट्रपति बनेकी भण्डारीले सक्रिय राजनीतिमा फर्कने सम्भावनाबारे एमालेभित्र मात्रै होइन नेपाली राजनीतिमा पनि चर्चा हुँदै आएको छ। यसबारे सार्वजनिक रूपमा मुख नखोले पनि बेला बेलामा राजनीतिमा पुनरागमनको पूर्वाभ्यासको संकेत भने दिइरहेकी छन्।

गत वर्ष २९ फागुनमा राष्ट्रपतिको कार्यकाल सकिएपछि सरकारी निवासमा नबस्ने निर्णय गरेकी थिइन्। भण्डारीको सुरक्षामा नेपाली सेना खटिए पनि उनले अन्य सरकारी सेवासुविधा फिर्ता गरिसकेकी छन्। सरकारले दिएको गाडी उनले २०७९ फागुनमै फिर्ता गरेकी थिइन्। सरकारी निवासमा नबस्ने भण्डारीको निर्णयले सक्रिय राजनीतिमा फर्कने अनुमानलाई बल पुर्‍याएको थियो।

३ असोज २०७२ मा संविधान जारी भएपछि ११ कात्तिक २०७२ मा भण्डारी राष्ट्रपति निर्वाचित भएका थिए। त्यसअघि उनी एमालेको उपाध्यक्ष थिइन्। दोहोरिएर एमाले उपाध्यक्ष जितेकी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि पार्टीबाट अलग भएकी थिइन्। २०७४ सालको चुनावपछि पनि राष्ट्रपति निर्वाचित भण्डारी सात वर्षपछि शीतल निवासबाट बाहिरिएकी थिइन्।

राष्ट्रप्रमुख भइसकेको व्यक्ति सामान्यतः सक्रिय राजनीतिमा आउँदैनन्। प्रथम राष्ट्रपति डा. रामवरण यादव पनि राजनीतिबाट टाढै छन्। पछिल्ला केही महिनायता पूर्वराष्ट्रपति भण्डारी राजनीतिक कार्यक्रममा पुगेकी थिइनन्, भाषण पनि गरेकी थिइनन्।

राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएपछि उनी राजनीतिक सन्देश दिने खालका खास कार्यक्रममा उपस्थित भएका थिए। यद्यपि, एमालेनिकट मदन भण्डारी फाउण्डेसनले आयोजना गर्ने कार्यक्रममा उनको उपस्थिति भइरहेको थियो।

तर, गत बुधबार महिला भेलामा उनी प्रमुख अथिति मात्रै बनिनन्, उनले राजनीतिक वक्तव्यसमेत दिइन्। महिला भएर महिलाको मात्रै एजेण्डामा सीमित रहन नहुने उनको सुझाव थियो।

राष्ट्रिय मुद्दामा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो। ‘राष्ट्रिय आवश्यकता फरक भएर गएको छ। तपाईंहरूले महिलाका एजेण्डा मात्रै उठाउने होइन, राष्ट्रिय एजेण्डामा अघि बढ्नुपर्छ र नेतृत्व लिनुपर्छ,’ उनले भनिन्।

एमालेले भण्डारीलाई ललितपुरको गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा ‘गणतन्त्र गौरव’बाट सम्मानित गरेको थियो। एमाले नेताहरू अरू कुनै कारण नभई राष्ट्रपतिका रूपमा निभाएको भूमिकाकै कारण ‘गणतन्त्र गौरव’बाट सम्मानित गरिएको तर्क गर्छन्। सोही कार्यक्रममा उनले राजनीतिक वक्तव्य दिएकी थिइन्।

सम्मानका क्रममा उनले गरेकाे सम्बोधनमा शुभकामनाभन्दा पनि राजनीतिक सन्देश थियो। उनले नेपालका कम्युनिष्ट पार्टीहरूलाई समग्र आन्दोलनको गहन समीक्षा गर्न सुझाव मात्र दिइनन्, कम्युनिष्टहरूलाई मिल्न आहृवान पनि गरेकी थिइन्। आगामी निर्वाचनअघि वाम एकता वा सहकार्य हुने भयो भने सबैले मान्ने पात्रका रूपमा भण्डारीलाई हेर्ने गरिएको छ।

एमालेसहित एकीकृत समाजवादी र माओवादीसमेत भण्डारीको नेतृत्वमा अटाउन सक्ने आँकलन गरिन्छ। भण्डारीलाई अघि सारेर केही वाम शक्तिहरूलाई मिलाउने प्रयास पनि एउटा तप्काबाट भइरहेकै छ। विभिन्न दलका दोस्रो-तेस्रो तहका नेताहरू त्यसमा सक्रिय छन्।

एमाले भित्रको ओली खेमा पनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन जबरजस्त प्रयास गरिरहेको बुझिन्छ। ओलीपछि पार्टी नेतृत्व गर्ने उपयुक्त पात्रको खडेरी देखिएकाले भण्डारीलाई सक्रिय गराउने रणनीतिमा छ।

एमालेभित्र पनि भण्डारी सक्रिय राजनीतिमा आउनुहुन्छ कि हुँदैन ? भन्ने दुई धार छ । अध्यक्ष ओलीले गत वर्ष साउनमा भण्डारीलाई देखाएर पार्टीमा समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस भइरहेको टिप्पणी गरेका थिए।

ओलीले २८ साउन २०८० मा एमाले पार्टी कार्यालय च्यासलको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा अध्यक्ष ओलीले भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने सम्भावनालाई पूरै अस्वीकार गरेका थिए। एक थरीले एमाले अध्यक्ष ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नआउन भनेरै नेकपा स्थापना दिवसमा सम्मान गरेर अप्ठेरोमा पारिदिएको ठान्छन्। अर्को थरीले भण्डारीलाई राजनीतिमा आउन बाटो खुलेको अर्थमा बुझ्छन्।