काठमाडौं। राजा वीरेन्द्र शाहको वंशनास भएको आज २३ वर्ष पूरा भएको छ।
राजपरिवारको जमघट हुने त्रिभुवन सदनभित्रको बिलियार्ड बैठकको चर्चित दरबार हत्याकाण्डको रहस्य हालसम्म गर्भमै छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भएको दरबार हत्याकाण्ड कसले, किन र कसरी गर्यो भन्ने विषयको उत्तर हालसम्म पाइएको छैन।
पारिवारिक जमघट भइरहेका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, वीरेन्द्रका भाइ अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यको गोली प्रहार गरी हत्या भएको थियो।
सो घटना तत्कालीन युवराज दीपेन्द्रले घटाएको भनिएको छ। सपरिवारको हत्या गरी आफैंले गोली हानेर आत्महत्या गरेको सरकारी भनाइ थियो । तत्कालीन प्रधानन्यायाधीसको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्ड अधिराजकुमार दीपेन्द्रले गरेको बताएका थिए।
तर, एक जनाले आफ्नो परिवारलाई मात्रै हत्या गरेका हुन, वा होइनन् भन्ने विषय अहिलेसम्म खोजीमै छ । हरेक सरकारले सत्ताको वागडोर सम्हाल्दा दरबार हत्याकाण्डको छानबिन गर्ने उद्घोष गर्ने गरेका छन् ।
दुईदशक बितिसक्दा पनि सो विषयमा छानबिन भएको छैन । हत्याकाण्डको छानबिन हुन नसकेपनि सो घटना भएको त्रिभुवन सदन सर्वसाधारणले अवलोकन गर्न पाएका छन् ।
२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी घरको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो । लगत्तै त्रिभुवन दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन शुरूकै शैलीमा निर्माण गर्ने विषयमा छलफल भएको थियो ।
२०६५ फागुन १५ बाट सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गरेको थियो । ‘त्यसको करिब ७ वर्षपछि त्रिभुवन सदनको बिलियार्ड बैठकहललगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिसकेको छ । तत्कालीन राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्ड भएको १ वर्षपछि २०५९ साल असारमा हत्याकाकाण्ड भएको त्रिभुवन सदन भत्काउन लगाइएको थियो ।
त्रिभुवन सदन भत्काएपछि त्यहाँको इँट्टालगायतका भवनमा प्रयोग भएका सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए । तत्कालीन युवराज स्वर्गीय दीपेन्द्रको खाट र मेट्रेसलगायत केही कपडा जलाइएको थियो । अन्य सामग्री नारायणहिटीको विभिन्न कक्षमा ज्ञानेन्द्रले नै राख्न आदेश दिएका थिए ।
त्रिभुवन सदनको विलियार्ड हलमा हत्याकाण्ड हुँदा बिच्छ्याइएको गलैँचामा रगत लत्पतिएका कारण सो गलैंचा स्टोरमै राख्न लगाइएको थियो । त्रिभुवन सदनमा रहेका २ सेट हरियो र हिमाल आकारको ३ सेट सोफा, बार दराज सिराहा बैठककक्षमा राखिएको थियो।
दरबार हत्याकाण्ड भएलगत्तै डाइनिङ टेबलमा यत्रतत्र खानेकुरा छरिएका थिए। हाल हत्याकाण्ड हुँदा त्रिभुवन सदनमा राखिएका सामग्री केही कक्षमा रहेका छन्।
दरवार हत्याकाण्ड पछि नेपालमा २०६२/६३ सालको जनआन्दोलन भयो । देशमा संविधान सभाको निर्वाचन दुई दुई पल्ट भइसक्यो । देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भइसक्यो । दुई दुई पल्ट स्थानीय तहको साथमा प्रदेश र संघीय संसदको निर्वाचन भइसक्यो । सत्ताको नेतृत्वमा फेरबदल भइरह्यो।
थुप्रै नेताहरु सत्तामा पुगे, मन्त्री, प्रधानमन्त्री भए । नयाँ दल र नेता सत्ताको नेतृत्वमा पुग्दा जेठ १९ गते आएपछि दरवार हत्याकाण्डको निष्पक्ष छानविन गर्ने प्रतिवद्धता जनाउँछन्, दरवार हत्याकाण्डको रहस्योद्घाटन गर्ने उद्घोष गर्छन् । तर आजको दिनसम्म्म पनि दरवार हत्याकाण्डको तथ्य रहस्यको गर्भमै लुकेर बसेको छ।