प्रचण्डकै नेतृत्वमा पुरानै गठबन्धन !

प्रचण्डकै नेतृत्वमा पुरानै गठबन्धन !

काठमाडौं। संसदीय राजनीतिमा नेपाली कांग्रेसबारे एउटा भनाइ चर्चित छ-सरकारमा बसेको भन्दा प्रतिपक्षमा बसेको कांग्रेस खतरनाक हुन्छ। पछिल्लो तीन दशकका राजनीतिक घटनाक्रमले पनि यो भनाइलाई पुष्टि गर्छ।

कुनैबेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले एमाले नेतृत्वको सरकारलाई ‘फू गरेर ढाल्दिन्छु’ भनेको अभिव्यक्ति चर्चित र विवादित थियो। सत्तामा रहँदा पार्टीको आन्तरिक किचलो र मन्त्रीहरूको मनपरीले कांग्रेस असंगठित देखिन्छ।

प्रतिपक्षमा हुँदा भने कांग्रेस व्यवस्थित र एकताबद्ध देखिन्छ। यसको उदाहरण बितेको तीन महिनामा देख्न सकिन्छ। महासमिति बैठकमा अनेक विषयमा विवाद गरेर ध्रुवीकृत भएका कांग्रेस नेताहरू सत्ता गुमेलगत्तै एकैस्वर गर्न थालेका छन्। कांंग्रेसले संसद् र सडकमा उपस्थिति देखाएको छ भने नेतृत्व तहमा ‘कार्यगत एकता’ पनि देख्न सकिन्छ।

प्रतिपक्षीय राजनीतिमा ‘खतरनाक खेलाडी’ को संज्ञा पाएको कांग्रेस अहिले के गर्दै छ त? जवाफ स्वाभाविक छ-कांग्रेस राजनीतिक कोर्स करेक्सनको प्रयत्नमा छ। सभापति शेरबहादुर देउवा बूढानीलकण्ठस्थित निवासमा बसेर सत्ता राजनीति उलटफेरको रणनीति बनाइरहेका छन्।

यसमा उनलाई उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला सहितको दह्रो साथ छ। बुधबार देउवाले सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विपक्षमा रहेका जसपा र लोसपासँग छलफल गरेपछि राजनीति तरंगित भएको छ ।

कांग्रेस र जसपाकै नेताहरूले यसलाई नयाँ कोर्सको प्रयासका रूपमा व्याख्या गरिसकेका छन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले त नयाँ समीकरणको सम्भावना बढेको बताइसकेका छन्। अहिलेलाई मधेश सरकारबारे छलफल भए पनि भविष्यमा नयाँ गठबन्धन बन्नसक्ने उनको भनाइ छ।

‘मधेश सरकारमा वर्तमान सरकार जोगाउने विषयमा कांग्रेस, जसपा, एकीकृत समाजवादी र लोसपाबीच सहमति छ। यही सहमतिलाई निरन्तरता दिएर राजनीतिको कोर्स करेक्सन गर्ने हो’, यादवको भनाइ छ।

नेपाली कांग्रेसका केही नेताहरू पनि सभापति देउवाको नेतृत्वमा नयाँ गठबन्धन निर्माणका लागि प्रयास भइरहेको बताउँछन्। ‘प्रतिपक्षी दलको नेताले सरकारबारे सधैँ केही न केही सोचेको हुन्छ । हाम्रो सभापतिले पनि केही सोच्नुभएको छ, केही गर्नुभएको छ। अहिलेको राजनीतिमा केही न केही फेरबदल गराउने प्रयास जारी छ’, कांग्रेसका एक नेताले बताए।

उनका अनुसार प्रदेश सरकारहरूले विश्वासको मत लिने क्रम सुरु भएसँगै नयाँ गठबन्धन निर्माणको कुराले तीव्रता पाउँछ। मधेशमा जसपा नेतृत्वको सरकार र गण्डकीमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिन बाँकी छ।

कांग्रेस के चाहन्छ ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कुनै पनि हालतमा वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छ। यसो हुँदा केही प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार पुनःस्थापित हुन्छन् भने कम्युनिष्ट पार्टीहरूको विवाद कायमै रहँदा राजनीतिक लाभ लिन सकिन्छ।

माओवादी-एमाले सहकार्य निरन्तर हुँदा वाम एकताको चरणसम्म पुग्नसक्ने कांग्रेसको आँकलन छ। यही कारण प्रचण्डलाई प्रधानमन्त्री राखेर वा नराखेर दुवै अवस्थामा गठबन्धन भत्काउने कांग्रेस रणनीति हो।

‘अहिलेको गठबन्धन कांग्रेसका लागि मात्रै होइन देशकै लागि हितकर छैन। प्रधानमन्त्रीले कांग्रेससँग अप्ठ्यारो मानेर काँध फेर्नुभयो तर अहिले उहाँको हालत अझै खराब भएको छ। अब नयाँ गठबन्धनबारे कांग्रेसले मात्रै होइन प्रधानमन्त्रीले पनि सोच्न थालिसक्नुभयो’, एक कांग्रेस नेताको भनाइ छ।

कांग्रेस नेताहरूका अनुसार माओवादीले गण्डकीमा कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने परिस्थिति पहिले निर्माण गरेर पुरानै गठबन्धन ब्युताउँने छलफल दुवै पार्टीमा भइरहेका छन्।

प्रचण्ड किन कन्फिडेण्ट ?

प्रतिपक्षले अनेक प्रयास जारी राखे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको सरकार तत्काल तलमाथि नहुनेमा विश्वस्त देखिन्छन्। उनले शुक्रबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।

छलफलमा विपक्षी दलको बैठकमा माधवको उपस्थितिबारे पनि छलफल भएको थियो। प्रधानमन्त्री प्रचण्डले माओवादी संसदीय दलको बैठकमा सम्बोधन गर्दै सरकार समस्यामा नपर्ने दाबी गरिसकेका छन्।

उनले माधव नेपाललाई आफूसँग छलफल गरेरै विपक्षीको बैठकमा गएको भन्दै माओवादी नेतृत्वको सरकार समस्यामा नपर्ने बताए। प्रचण्डको कन्फिडेण्टले दलहरूबीच वर्तमान सरकार जोगाएरै नयाँ गठबन्धन बनाउने प्रयास भइरहेको आँकलनलाई बल पुगेको छ।

‘एमालेले अहिले साथ दिए पनि एमालेसँग काम गर्न प्रचण्ड कमरेडलाई सजिलो भइरहेको छैन। रास्वपाको व्यवस्थापनमा पनि बढी अलमलिनुपरेको छ। अहिलेको भन्दा पहिलेको ठीक थियो भन्ने अवस्था पनि आउन सक्छ’, माओवादीका एक पोलिटब्युरो सदस्यले बताए।

कतिपय प्रदेश सरकारहरूमा अस्थिरता कायमै रहे मध्यावधि चुनावको समेत सम्भावना बढेर गएको छ। कोशी, गण्डकी, मधेश लगायतका प्रदेशमा मध्यावधिको सम्भावना टार्न पनि सुदृढ गठबन्धनको महसुस प्रधानमन्त्री प्रचण्डले गरेकाे माओवादी नेताहरूकै दाबी छ। यस्तो अवस्थामा गण्डकी वा मधेश प्रदेश सरकारको विश्वासको मतसँगै केन्द्रीय राजनीति नयाँ शिरामा बग्न सक्छ।

ओली अप्ठ्यारोमा ?
सत्ता गठबन्धनको मुख्य घटक भए पनि नेकपा एमाले चौतर्फी समस्यामा छ। गण्डकीमा एमाले नेतृत्वको सरकार सर्वोच्चको आदेशबाट विस्थापित भयो भने कोशीको विवाद पनि केही दिनमै सर्वोच्चले टुंग्याउनेछ।

कुनैबेला नेकपा एकीकृत समाजवादीको राजनीतिक हैसियत अस्वीकार गरेको एमाले अहिले उसैसँग गठबन्धनमा छ। सदूरपश्चिममा एमाले अध्यक्ष केपी ओलीको अनिच्छाका वावजुद एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको छ। केन्द्रमा पनि ओली र माधव नेपालबीच सम्बन्ध सुध्रिएको छैन।

माधव-देउवा भेटलाई लिएर ओलीले प्रचण्डसँग सिकायत गरिसकेका छन्। जसपा फुटाएर सत्ता राजनीतिमा एमालेलाई निर्णायक बनाउन ओलीले पहल गरेका थिए। तर, राजनीतिका पछिल्ला घटनाक्रमहरूले एमालेलाई गठबन्धनमा सुदृढ देखाएको छैन।

हिमालय टाइम्स दैनिकबाट