काठमाडौं । अबको तीन दिन देशभर भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गर्दै आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने जनाएको छ । वर्षाका कारण नदीहरूको जल सतह बढ्न सक्ने जानकारी महाशाखाले दिएको छ ।
असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अतिउच्च जोखिम रहने विभागको अनुमान छ ।यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।
यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छ । असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको छ। असोज १२ गते भने अति उच्चजोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छ । असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।
यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।
भारी वर्षाका कारण विभिन्न २० जिल्लामा अति उच्चसतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । उच्च जोखिमका जिल्लाहरू सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा र पर्वत ।