पृथ्वीसँग दुई महिनाका लागि हुने छ 'दोस्रो चन्द्रमा'

पृथ्वीसँग दुई महिनाका लागि हुने छ 'दोस्रो चन्द्रमा'

काठमाडाैं। यो शरद् ऋतुमा एउटा रोचक खगोलीय घटना हुन लागेको छ। वैज्ञानिकहरूका अनुसार चाँडै पृथ्वीमाथि आकाशमा "दोस्रो चन्द्रमा" देखा पर्ने छ तर त्यसलाई खाली आँखाले भने देख्न सकिँदैन।

पृथ्वीको गुरुत्वाकर्षण बलले एउटा क्षुद्रग्रहलाई पृथ्वीतिर तान्न लागेको छ। फलस्वरूप उक्त क्षुद्रग्रह छोटो अवधिका लागि "लघुचन्द्र" बन्ने छ।

उक्त खगोलीय पिण्ड सेप्टेम्बर २९ आइतवारदेखि पृथ्वीनजिकै आइपुग्ने छ। दुई महिनाको अवधिपछि भने उक्त क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रबाट उम्किने छ।

तर पृथ्वीको "दोस्रो चन्द्रमा" एकदमै सानो र मधुरो हुने छ। व्यावसायिक टेलिस्कोपका माध्यमबाट मात्र त्यसलाई देख्न सकिने छ।

उक्त क्षुद्रग्रहलाई सबैभन्दा पहिला नासाको 'एस्टरोइड टरेस्ट्रिअल-इम्प्याक्ट लास्ट अलर्ट सिस्टम (एट्लस) ले गत अगस्ट ७ मा पत्ता लगाएको थियो।

रिसर्च नोट्स अफ अमेरिकन अस्ट्रोनोमिकल सोसाइटीमा प्रकाशित एउटा शोधमा वैज्ञानिकहरूले उक्त क्षुद्रग्रहको मार्गबारे चर्चा गरेका छन्।

वैज्ञानिकहरूले उक्त क्षुद्रग्रहलाई "2024 PT5" नाम दिएका छन्। त्यो "अर्जुन क्षुद्रग्रह क्षेत्र" बाट आएको हो। उक्त क्षेत्रमा भएका चट्टानहरूको कक्ष पृथ्वीको जस्तै हुन्छ।

कहिलेकाहीँ ती क्षुद्रग्रहहरू पृथ्वीको निकै नजिक आइपुग्छन्। कुनैकुनै त पृथ्वीबाट २८ लाख माइल (४५ लाख किलोमिटर) को दूरीमा हुन्छन्।

अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार क्षुद्रग्रहको औसत गति निकै कम अर्थात् ३,५४० किलोमिटर प्रतिघण्टा जति हुँदा त्यसमा पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रको ठूलो प्रभाव पर्छ।

त्यस्तो प्रभावका कारण उक्त खगोलपिण्ड अस्थायी रूपमा पृथ्वीको "पासो" मा पर्छ।

उक्त क्षुद्रग्रह झन्डै ३२ फुट लामो छ। पृथ्वीको प्राकृतिक चन्द्रमाको तुलनामा त्यो निकै सानो छ। चन्द्रमाको व्यास ३,४७४ किलोमिटर छ।

उक्त क्षुद्रग्रह सानो र नटल्किने खालको चट्टानबाट बनेकाले पृथ्वीवासीले दुरबिन वा घरेलु टेलिस्कोपले हेर्दा पनि त्यसलाई देख्न सक्दैनन्।

“व्यावसायिक टेलिस्कोपबाट मात्र देख्न सकिन्छ। सानो थोप्लाजस्तो आकृति ताराहरूको बीचमा तीव्र गतिमा हुइँकिएको देखिने धेरै तस्बिरहरू तपाईँले अनलाइन माध्यममा फेला पार्न सक्नुहुन्छ,” डा मिलर्डले भनिन्।

विगतमा पनि "लघुचन्द्र"हरू देखा परेका थिए। तर त्यस्ता धेरै खगोलपिण्डबारे जानकारी वा वास्ता नै नभएको ठानिन्छ। यद्यपि पृथ्वीलाई परिक्रमा गरे जस्तो देखिने गरी केही क्षुद्रग्रह दोहोर्‍याएर पृथ्वीनजिक आइपुगेका छन्।

सन् १९८१ मा "लघुचन्द्र" बनेको "2022 NX1" (२०२२ एनएक्सवन) नामक क्षुद्रग्रह पुनः सन् २०२२ मा देखा परेको थियो।

वैज्ञानिकहरूका अनुसार अहिले देखा पर्न लागेको क्षुद्रग्रह "२०२४ पीटीफाइभ" को सन् २०५५ मा पुनरागमन हुने छ।

“यसबाट हाम्रो सौर्यमण्डल कति व्यस्त छ र हामीले कति धेरै कुरा जान्न बाँकी छ भन्ने देखिन्छ। यो क्षुद्रग्रह यो वर्ष मात्रै पत्ता लागेको हो,” डा मिलर्डले भनिन्।

“त्यहाँ दशौँ हजार वा लाखौँ वस्तु छन् जसको पहिचान नै भएको छैन। अनि मलाई के लाग्छ भने यसले रात्रिकालीन आकाशको निरन्तर अनुगमन गर्नु र सबै वस्तु पत्ता लगाउनु किन महत्त्वपूर्छ छ भन्ने देखाउँछ।"