काठमाडौं। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता हुने भएको छ । निर्वाचन आयोगले दल दर्ताको लागि तोकेको समयअगावै दुई दलबीच एकता हुने भनिएको छ । त्यसको लागि तयारी अन्तिम चरणमा पुगेको दुवै दलका एकता प्रक्रियामा सहभागी नेताहरुले दाबी गरेका छन् ।
पार्टीको नाम र चुनाव चिन्हसमेत करिब करिब फाईनल भएको भनिएको छ । एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) राख्ने भनिएको छ । चुनाव चिन्हमा अहिले एकीकृत समाजवादीको कलम राख्ने भनिएको छ । तर, यसमा अन्तिम सहमति नभईसकेको भनिएको छ ।
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले पनि हालै मधेश झरेर कम्युनिष्ट पार्टीबीच एकता हुने घोषणा गरेका थिए । त्यसको दुई दिनपछि आज दुई दलबीच एकताको गृहकार्य अन्तिम चरणमा पुगेको भनिएको छ ।
एकताको लागि माओवादी केन्द्रले माओवाद विचार छोड्ने भनेको छ । तर, माधव नेपालको दलमा भने सम्मानित नेता झलनाथ खनाललगायतले भने एकता प्रक्रियामा सहमति नभएको प्रतिक्रिया दिन थालेका छन् ।