काठमाडौं। असोज २१ गते घरबाट हराएकी मोरङको लेटाङ नगरपालिकाकी बालिका अंशु गौतमको १८ दिनपछि बीभत्स हत्या भएको अवस्थामा जङ्गलमा शव भेटिएको छ। लेटाङ नगरपालिका–२ की गौतमको शव चिसाङ साझेदारी वनमा शुक्रबार फेला परेको हो।
प्रहरीका अनुसार लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टाछुट्टै सडेर दुर्गन्ध फैलिएको अवस्थामा शव भेटिएको हो । घाँस काट्न जङ्गल गएका स्थानीयवासीले वनभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
बालिकाले लगाएका कपडा र चप्पल पनि छुट्टाछुट्टै स्थानमा फेला परेको छ।
जङ्गलमा शव भएको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय लेटाङ र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। बालिकाको बलात्कारपछि हत्याको आशंका गरिएको छ ।