संकटमा छाया सेन्टर, तनावमा सञ्चालकहरू

संकटमा छाया सेन्टर, तनावमा सञ्चालकहरू

काठमाडौं। मालपोत कार्यालय र गुठी संस्थानले ठमेलस्थित छाया सेन्टरको जग्गा पोखरीकै भएको पुष्टि गर्ने अभिलेखसहितको जवाफ सर्वोच्च अदालतमा पठाएपछि यसका सञ्चालकहरू तनावमा परेका छन् ।

गुठी र मालपोत कार्यालय काठमाडौंले छाया देवी कम्प्लेक्सले बनाएको भवन कमलपोखरीकै रहेको जवाफ पठाएपछि राजनीतिक आडमा सरकारी जग्गाको दोहन गरिरहेका सञ्चालकहरू तनावमा परेका हुन् । मालपोत र गुठीको जवाफले सर्वोच्चमा विचाराधीन मुद्दाले पनि नयाँ मोड लिने देखिएपछि उनीहरूको बेचैनी बढेको स्रोत बताउँछ ।

पृथ्वीबहादुर पाण्डे अध्यक्ष रहेको छाया देवी कम्प्लेक्सको सञ्चालकमा सुहृदराज घिमिरे, दीपकमान शेरचन, रास्वपा नेता सुमन विक्रम पाण्डे, महेश्वर प्रकाश श्रेष्ठलगायत छन्।

मालपोत र गुठी संस्थानले सर्वोच्चमा पेस गरेका विवरणअनुसार छाया सेन्टर ठडिएको जग्गा ‘पोखरी, पोखरीको डिल र सिम’ क्षेत्र भएको उल्लेख छ । पोखरी वा पोखरीको डिलमा मोहियानी हक नलाग्ने र त्यस्तो जग्गा व्यक्तिको हुन नसक्नेबारे स्पष्ट कानुनी व्यवस्था छ ।

मालपोतले कित्ता नम्बर १६७ को फिल्डबुक विवरणमा पोखरी भए पनि स्रेस्ताको किसिममा सिम प्रकृतिको जग्गा भएको जवाफ सर्वोच्चलाई पठाएको छ । मालपोतको पत्रानुसार, कित्ता नं. १६७ को १२ रोपनी १३ आना ३ पैसा २ दाम र कित्ता नं. १०४० कोे ९ आना २ पैसा ३ दाम क्षेत्रफल कार्यालयको अभिलेखमा रहेको नाप-नक्सा सुरु कित्ता हो । त्यस्तै, गुठी संस्थानले पनि विवादमा आएको ठमेल गरुड भगवान् गुठीको जग्गा साबिक लगत नम्बर १८३ नं को २६-८-०-० मध्येको पछि नापी हुँदा कायम हुन आएको कि.नं १६७ को क्षे.फ. १२-१३-२–२ जग्गा गुठी संस्थान अन्तर्गतको जग्गा भएको जनाएको छ ।

कित्ता नं. १६७ को उल्लेखित १२-१३-२-२ जग्गा साबिकमा पोखरी जनिएर नाप नक्सा भए पनि उक्त गुठीको गुठीपार समेतको सहमतिले मिलापत्र भई पोखरीको डिल कायम गरी केयुर शमशेरलाई मोही कायम गर्नेगरी सम्मानित सर्वोच्च अदालतमा मिलापत्र भएको पनि संस्थानले खुलाएको छ । संस्थानले सार्वजनिक पोखरीमा गैरकानुनी रूपमा मोही कायम भएपछि गुठी संस्थानको २१ जेठ २०३९ को निर्णयले सम्मानित सर्वोच्च अदालतको निर्णयअनुसार केयुर शमशेर राणा मोही कायम भई उक्त जग्गा गुठी अधीनस्थ कायम भएको भनेको छ । त्यसपछि उक्त जग्गाको मोहियानी हक बिक्री वितरण भई कित्ताकाटसमेत भई व्यक्ति विशेषको नाउँमा कायम भई गएको गुठी संस्थानको प्रष्टीकरण छ । गुठी संस्थानले उक्त रैतानी नम्बरीसम्म बदरका लागि तत्कालीन पुनरावेदन अदालत पाटनमा फिराद दर्ता गरिए पनि सफल नभएको पत्रमा उल्लेख गरेको छ ।

गत २० चैतमा सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासले छायादेवी कम्प्लेक्स निर्माण गरिएको जग्गाबारे विवरण पठाउन गुठी संस्थान र मालपोत कार्यालय काठमाडौंबाट विवरण झिकाउने आदेश दिएको थियो । उक्त मुद्दाको अर्को सुनुवाइ आज (आइतबार) लाई तोकिएको छ ।

साबिक कित्ता नं. १६७ र १०४० का जग्गाहरू २३ मंसिर २०४४ मा नेपाल सरकारका नाममा दर्ता स्रेस्ता कायम भएकोमा ती व्यक्तिका नाममा कसरी पुगे भनेर सर्वोच्चले विवरण मागेको थियो । ५ कात्तिक २०७४ मा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली र डा. आनन्दमोहन भट्टराईले मिसिल झिकाउने आदेश दिएयता २० चैत २०८० मा आएको आदेश दोस्रो हो ।

सर्वोच्चकै न्यायाधीशद्वय जगदीश शर्मा पौडेल र केदारप्रसाद चालिसेको संयुक्त इजलासले ६ चैत २०७३ मा ऐतिहासिक सम्पदालाई व्यक्तिको नाममा गर्ने उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण रहेको भन्दै दोहोर्‍याउने निस्सा दिएको थियो । अदालतमा मुद्दा विचाराधीन रहे पनि ४३ व्यवसायीको संयुक्त लगानीमा १३ तले छाया सेन्टर निर्माण गरिएको थियो ।

काठमाडौं महानगर-२६, ठमेलको भगवान् बहालस्थित विक्रमशील महाविहारको पूर्वतर्फ सयौँ वर्ष पुरानो कमलपोखरीमा बल मिच्याइँ गर्दै ४३ व्यवसायीको समूहले व्यापारिक भवन छाया सेन्टर ठड्याएपछि स्थानीय र सम्पदा संरक्षणकर्मीले न्यायालय गुहारेका थिए । सम्पदा संरक्षणकर्मी, स्थानीय र अधिवक्तासमेत १५ जनाले सार्वजनिक पोखरी अतिक्रमण भएको भन्दै मुद्दा दिएका थिए । २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठ लगायतले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । निवेदकको माग ऐतिहासिक कमलपोखरी मासेर भवन बनाइएकाले भत्काउनुपर्ने छ । दस्तावेजहरूले पनि निवेदककै दाबी पुष्टि गरेको छ । तत्कालीन पुनरावेदन (हाल उच्च अदालत) पाटनको फैसलामा टेकेर छाया सेन्टर भवन निर्माण भए पनि सो फैसलालाई सर्वोच्च अदालतले त्रुटिपूर्ण भनिसकेको अवस्था छ ।

कम्प्लेक्स छाया सेन्टर भत्काउनुपर्ने माग संसद्मै पनि उठ्ने गरेको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद् बैठकमै छाया सेन्टर भत्काउनुपर्ने आवाज उठाउनुभएको थियो । गुठी संस्थान ऐन, मालपोत ऐन वा अन्य कुनै कानुनले त्यसरी सार्वजनिक पोखरी वा जग्गा व्यक्तिको हुने छुट कतै दिएको छैन । तर, राज्यसत्तासँग सिधा पहुँच राख्ने व्यावसायिक समूहले अदालतको एउटा ‘त्रुटिपूर्ण’ फैसलाको जगमा वर्षौं पुरानो पोखरीमा छाया सेन्टर ठड्याएको हो ।

छाया सेन्टरमा को-को छन् ?

‘मिनी ठमेल’ का रूपमा उभ्याइएको छाया सेन्टरमा प्रभावशाली व्यवसायीहरूको लगानी छ । छायादेवी कम्प्लेक्स प्रालिको अध्यक्ष नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे छन्। मुख्य लगानी पाँडे परिवारकै छ। व्यापारिक कम्प्लेक्सको नामै उनकी आमा छाया देवीबाट राखिएको छ । ६५ करोडबाट सुरु कम्पनीमा पाँडेसहित ४३ जना लगानीकर्ता छन् ।

पाँडे, पत्नी प्रतिभा, छोरा सिवान्त र दिवंगत दाजु पवनबहादुर पाँडेको नाममा कम्पनीमा सेयर छ । कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतका छोरा रक्षक महतको नाममा पनि ५० लाखको सेयर छ । महेश्वरप्रकाश श्रेष्ठको चार करोड ७३ लाख ७१ हजार र उनको कम्पनी हिमालयन इन्फ्रास्ट्रक्चर एण्ड लिमिटेडको नाममा तीन करोड ४८ लाख लगानी देखिन्छ ।

त्यस्तै, सुमनविक्रम पाण्डे, व्यवसायी दीपक शेरचन र उनका दाइ किरणमानको पनि कम्पनीमा झण्डै साढे पाँच करोडको लगानी छ । त्यस्तै, मिजास भट्टचनको तीन करोड ५४ लाख १९ हजार र मनोहरप्रसाद शेरचनले एक करोड ६० लाख ४३ हजार लगानी गरेको देखिन्छ । मधसूदन राजभण्डारीका छोरा प्रजन्य राजभण्डारी र उहाँका दुई छोराहरू प्रगुण र प्रणयको नाममा पनि छाया सेन्टरमा लगानी देखिन्छ ।

कमलपोखरी कसरी बन्यो छाया सेन्टर ?

कमलपोखरीको इतिहास निकै लामो छ । सय वर्ष पहिलादेखि हालको छाया सेन्टर भएको ठाउँ ‘थँ बहिल’मा कमलपोखरी थियो । सो पोखरी केशरशमशेरको पालासम्म रहेको थियो । केशरशमशेरपछि उहाँका सन्तानले शक्ति र सत्ताको आडमा ‘भगवानको बिर्ता’ रहेको ऐतिहासिक अभिलेख नामेट बनाएर राज्य शक्तिको समेत दुरुपयोग गरेर व्यक्तिलाई बिक्री गरेका थिए । १९४७ सालमा ठिमीका काशीनाथ श्रेष्ठले घर बनाउँदा कबुलियत गरेको पत्रमा ‘थँ बहिल’ भगवानको बिर्ता कमलपोखरी भनी उल्लेख छ । १९४७ सालमा कमलपोखरीको पश्चिमपट्टिको पर्खालमा ढोका बनाउने र पर्खाल भत्केको बिग्रेको बनाउने’ अभिलेख छ । १९५० सालको अभिलेखले पनि पोखरीको डिलको विषय उल्लेख गरेको छ । १९५३ सालको विक्रमशील महावीर गरुड भगवान् गुठीको जग्गा जनरल केदारनरसिंह राणाको पर्खालभित्र पर्न गएको गुठीमा रहेको अभिलेखमा उल्लेख छ । १९५९ सालमा भगवान् बहालको निकास कमलपोखरीमा पठाउन बहालअगाडि कुलो बनाउने अभिलेख छ ।
औपचारिक रूपमै पनि विसं १९६५ को स्रेस्तामा यसको नाममा साढे २६ रोपनी क्षेत्रफल देखिन्छ । ठमेल क्षेत्रमा राणाहरू गएसँगै पोखरी अतिक्रमण सुरु भएको तथ्यहरूले पुष्टि गर्छन् । विसं १९७७ मा जनरल केशरशमशेर जबराले आफ्नो दरबारको शोभा बढाउन भन्दै विहारलाई १२५ रुपैयाँ भाडा दिएर सो पोखरी प्रयोग गर्न थालेको इतिहास छ ।

केशरशमशेरले मासिक भाडामा लिएको पोखरी विस्तारै उहाँको परिवारले कब्जा गरेको थियो । त्यसपछि उहाँका छोरा केयुरशमशेरले पोखरीको केही भागमा धान रोप्न थाल्नुभएको थियो । विहारका गुठियारले त्यसको विरोध गरेका थिए । केयुर शमशेरविरुद्ध उनीहरूले २०२७ सालमा अदालतमा धर्मलोपको मुद्दासमेत लगाए । २०३३ सालमा सर्वोच्च अदालतको फैसलाबाट सो पोखरी र डिल गुठीकै नाममा कायम भयो । २०४१ मा केयुरशमशेरको निधनपछि उहाँको नामको कित्ता नम्बर १६१८ पत्नी अम्बिका राणाको नाममा सारियो भने अरू दुई कित्ताको जग्गा अम्बिकाका दाई शंकरप्रसाद शाहको नाममा सारिएको थियो । २०४७ मा आएर अम्बिका र शंकरप्रसाद दिदीभाइले सो जग्गा अनधिकृत रूपमा रैतानीमा परिणत गराउनुभएको हो । अम्बिका राणाको जग्गा २०६३ मा सुरेसाथ हाउजिङ र २०६४ मा उहाँको नामका सबै जग्गा नातेदार प्रतिभा राणा पाँडेलाई नामसारी गरियो । त्यस्तै, शंकरप्रसाद शाहका नाममा पुगेको दुई कित्ता पनि उनै प्रतिभाको नाममा नामसारी भयो । उहाँको नामबाट पनि २०६५ मा पुनः नामसारी भएपछि ऐतिहासिक कमलपोखरी व्यवसायी पाँडेको नाममा आइपुगेको हो ।

हिमालय टाइम्स दैनिकबाट