अजिंगरबाट दुई घण्टा बेरिएकी महिलाको उद्धार

अजिंगरबाट दुई घण्टा बेरिएकी महिलाको उद्धार

थाइल्यान्ड । एक अजिंगरबाट दुई घण्टाभन्दा बढी समय बेरिएकी महिलालाई थाइल्यान्डको प्रहरीले उद्धार गरेको छ।

ती ६४ वर्षीया महिलाको नाम अरोम भएको बताइएको छ। राजधानी ब्यांककको बाहिरी हिस्सामा पर्ने आफ्नै घरमा उनी भाँडा माझिरहेकी थिइन्। अचानक उनले आफ्नो खुट्टामा कयौँ पटक केहीले टोकेको महसुस गरिन्। 

‘सर्प अगाडि आएर मलाई टोक्यो,’ प्रहरीले खिचेको भिडिओमा उनले भनेकी छन्। त्यसपछि अजिंगरले उनलाई बेर्न थाल्यो। अन्ततः उनी जमिनमा लडिन्। 
प्रहरीका अनुसार लडेपछि पनि उनले आफूलाई अजिंगरबाट मुक्त गर्न दुई घण्टासम्म कोसिस गरिन्। तर, सफल भइनन्।

उनले सहयोगका लागि हारगुहार गरिन्। तर, सुरुमा कसैले सुनेनन्। अन्ततः एक छिमेकीले उनको गुहार सुने र प्रहरीलाई खबर गरिदिए। ‘ती महिला भुइँमा लडेकी थिइन् र अजिंगरले उनलाई कसिलोगरी बेरेको थियो,’ प्रहरीका मेजर सार्जेन्ट अनुशर्ण वङमालीले भनेका छन्, ‘अजिंगर निकै ठूलो थियो।’

उनलाई अजिंगरबाट छुटाउन थप आधा घण्टा लागेको प्रहरीले जनाएको छ। ‘त्यसपछि सर्प भाग्यो, हामीले समात्न सकेनौँ,’ प्रहरीले भनेको छ। थाइल्यान्डमा २५० प्रजातिका सर्प पाइन्छन्। अजिंगर पनि तीन प्रकारका पाइन्छन्। अजिंगर विषालु हुँदैनन् तर तिनले आफ्नो सिकारलाई कसिलोगरी बेरेर सास फेर्न नदिई मार्छन्। 

गत महिना पनि थाइल्यान्डमा बाथरुममा बसिरहेका एक पुरुषको अजिंगरले अण्डकोष टोकिदिएको थियो। उनीले बाथरुम सफा गर्ने ब्रसले अजिंगरलाई हिर्काएर बच्न सफल भएका थिए। अजिंगरबाट छुट्न उनलाई एक सुरक्षा गार्डले सघाएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।