संविधान रक्षाका लागि अर्को जनआन्दोलन गर्छौं : झलनाथ खनाल

संविधान रक्षाका लागि अर्को जनआन्दोलन गर्छौं : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधान रक्षाका लागि राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरूलाई तलमाथि गर्ने कुरा सह्य नहुने बताए।

उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गरे। उनले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरा हटाउन आवश्यक रहेको बताए। काम नलाग्ने कुरालाई क्रमिक रूपले संशोधन गर्दै जानुपर्ने बताए। उनले संविधानमा भएका प्रगतिवादी कुरामध्ये कुनै पनि कुरालाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने बताए।

खनालले भने, ‘यो संविधान बनाएको ९ वर्ष भयो। यो संविधान सम्झौताको संविधान हो। यो संविधानभित्रका समाजवादी पक्षलाई तलमाथि कसैले गर्छ भने फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौं‚ यो संविधानको रक्षाका लागि।’

पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई नयाँ ढंगले निर्माण गर्नुको विकल्प नरहेको बताए।