भ्रष्टाचार मुद्दा लाग्नेमा सबैभन्दा बढी राष्ट्रसेवक कर्मचारी

भ्रष्टाचार मुद्दा लाग्नेमा सबैभन्दा बढी राष्ट्रसेवक कर्मचारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा दायर गरेका भ्रष्टाचार मुद्दाको प्रतिवादीमा सबैभन्दा ठूलो संख्या राष्ट्रसेवक कर्मचारीको छ ।

अख्तियारका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा कुल २०१ भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । दायर गरिएको मुद्दामा कुल एक हजार ५४५ जनालाई प्रतिवादी बनाइएको थियो ।

प्रतिवादीमध्ये राष्ट्रसेवक कर्मचारीको संख्या ५२० छ । भ्रष्टाचारको मुद्दा लाग्नेमा दोस्रो ठूलो संख्या निर्वाचित जनप्रतिनिधि तथा मनोनीत पदाधिकारीको छ । २५४ जनप्रतिनिधि तथा मनोनीत पदाधिकारीलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, गत आर्थिक वर्ष दायर गरिएका मुद्दामा प्रतिवादी बनाइएकामा १०६ जना निर्वाचित जनप्रतिधि र १४८ मनोनीत पदाधिकारी छन् ।

“कुल एक हजार ५४५ प्रतिवादीहरूमध्ये राष्ट्रसेवक कर्मचारी ५२०, निर्वाचित जनप्रतिनिधिहरू १०६, मनोनीत पदाधिकारी १४८, राजनीति नियुक्ति ३२, लेखापढी व्यवसायी, बिचौलिया, संघसंस्था र अन्य व्यक्तिहरू ७३९ रहेका छन्,” अख्तियारको विज्ञप्तिमा भनिएको छ ।

प्रतिवादी ५२० राष्ट्रसेवक कर्मचारीमा विशिष्ट श्रेणीका ६, सहसचिव वा सोसरहका ३०, उपसचिव/सीडीई वा सोसरहका ८२, शाखा अधिकृत/इन्जिनियर वा सोसरहका २०२ र सहायकस्तरका २०० जना छन् ।