लक्ष्मीपूजामा दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान

लक्ष्मीपूजामा दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिब एक हजार ९ सयदेखि दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान गरेको छ । 

उक्त माग सहजै व्यवस्थापन गर्न सकिने प्राधिकरणको दाबी छ । पछिल्लो समय भएको वर्षाका कारण नदीहरूमा पानीको बहाव राम्रो रहेको र विद्युत् उत्पादन तथा आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध रहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । सोही कारण लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिमा समस्या नहुने बताए । 

“अहिले प्राधिकरणसँग करिब दुई हजार ७०० देखि दुई हजार ८०० मेगावाटभन्दा बढी विद्युत् उपलब्ध गराउन सक्ने क्षमता छ । त्यसैले लक्ष्मीपूजाका दिन अनुमान गरिएको विद्युत् माग सहजै व्यवस्थापन गर्न सकिनेछ,” श्रेष्ठले भने । 

लक्ष्मीपूजाका दिन घरघरमा बत्ती बाल्ने परम्परा रहेकाले अन्य दिनको तुलनामा विद्युत् खपत बढ्ने हुन्छ । तर, उक्त दिन केही उद्योग तथा कलकारखाना बन्द रहने भएकाले औद्योगिक विद्युत् खपत घट्ने उनको भनाइ छ । घरायसी प्रयोजनमा विद्युत् माग बढ्ने उनले बताए । दुवै अवस्थालाई सन्तुलन गर्दा माग दुई हजारदेखि दुई हजार १०० मेगावाटभन्दा माथि नपुग्ने प्राधिकरणको अनुमान छ । 

श्रेष्ठका अनुसार, अहिले नेपालको राष्ट्रिय विद्युत् प्रणालीको पिक लोड सामान्यतया दुई हजार १०० देखि दुई हजार २०० मेगावाटको हाराहारीमा छ । निर्यातसमेत जोड्दा प्रणालीको पिक लोड अझ बढी हुने गरेको छ । राष्ट्रिय पिक लोड भने करिब दुई हजार २०० देखि दुई हजार ३०० मेगावाटको हाराहारीमा रहेको उनले बताए । 

गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को पिक लोड करिब एक हजार ६०० देखि एक हजार ७०० मेगावाट मात्रै पुगेको थियो । यस वर्ष विद्युत् खपत केही बढे पनि करिब एक हजार ९०० देखि दुई हजार मेगावाटसम्म पुग्ने प्रक्षेपण गरिएको छ । त्यसैले आपूर्तिको पक्षबाट कुनै समस्या नरहेको श्रेष्ठको भनाइ छ । 

यद्यपि, लक्ष्मीपूजाका दिन घरायसी विद्युत् खपत अत्यधिक बढ्दा वितरण प्रणालीमा भने केही प्राविधिक समस्या आउन सक्ने प्राधिकरणले जनाएको छ । विशेषगरी उपभोक्ताको घरमा जडान गरिएका मिटरको क्षमता, एमसीबी तथा अन्य विद्युतीय उपकरणमा अत्यधिक भार पर्दा एमसीबी ट्रिप हुने र मिटर जल्ने समस्या देखिन सक्ने सम्भावना रहन्छ ।

त्यसैगरी, विद्युत् वितरणका क्रममा प्रयोग हुने ट्रान्सफर्मर र ११ केभीका फिडरमा समेत अतिरिक्त भार पर्नसक्ने भएकाले प्राधिकरणले वितरण प्रणालीलाई व्यवस्थित बनाउन विशेष तयारी गरेको छ । 

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार, पछिल्ला दिनमा प्राधिकरणका सबै वितरण केन्द्रका कर्मचारी तथा प्राविधिक टोली विद्युत् भारको विश्लेषण र व्यवस्थापनमा खटिएका छन् । बढी भार भएका ट्रान्सफर्मरको लोड घटाउने, आवश्यकताअनुसार अन्य स्थानमा भार स्थानान्तरण गर्ने तथा फिडरहरूको व्यवस्थापन र प्राविधिक सेटिङ मिलाउने काम भइरहेको छ । १५ देखि २० प्रतिशतसम्म विद्युत् भार थपिए पनि व्यवस्थापन गर्न सकिने गरी वितरण प्रणालीमा आवश्यक तयारी गरिएको उनले बताए ।

कुनै स्थानमा बढी भारका कारण विद्युत् अवरुद्ध हुने वा ट्रिपिङको समस्या आए तत्काल समाधान गर्न विभिन्न स्थानमा प्राधिकरणका प्राविधिक तथा कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । विद्युत् सेवा अवरुद्ध भएको अवस्थामा १५ देखि २० मिनेटदेखि बढीमा आधा घण्टाभित्र पुनः सञ्चालन गर्न सकिने गरी जनशक्ति परिचालनको व्यवस्था मिलाइएको श्रेष्ठले जानकारी दिए ।