सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो

काठमाडौँ– यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा पनि विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाइएको छ ।

कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान, खोज तथा उद्धार र आधारभूत अनुशासनसम्बन्धी सीप प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा सीमाक्षेत्रमा परिचालन हुने विस्फोटक पदार्थ तथा हातहतियार पहिचान गर्ने कुकुर, अपराधीको खोजीमा प्रयोग हुने ट्र्याकर डग र भूकम्पजस्ता विपद्का बेला भग्नावशेषमा पुरिएका मानिसको खोजी तथा उद्धारमा परिचालन हुने कुकुरले आफ्नो क्षमता प्रस्तुत गरेका थिए। साथै, कुकुरलाई दिइने आधारभूत तालिम र अनुशासनसम्बन्धी अभ्याससमेत प्रदर्शन गरिएको थियो।

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोजस्ता विपद्मा खोज तथा उद्धार कार्यमा खटिएका थिए।

भोटेकोशी विपद्का क्रममा तीनवटा कुकुर परिचालन गरी कठिन भौगोलिक अवस्था, हिलो तथा मानिस पुग्न कठिन स्थानमा समेत खोजी गरिएको थियो। उक्त क्रममा कुकुरहरूले २० वटा शव फेला पार्न सहयोग गरेको थापाले जानकारी दिए।

कार्यक्रमको अन्त्यमा कुकुरहरूको पूजा गरी टीका, माला लगाइदिनुका साथै मिठा खानेकुरा खुवाएर कुकुर तिहार मनाइएको थियो। मानिसको सुरक्षादेखि अपराध अनुसन्धान र विपद्का बेला खोज तथा उद्धारसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुकुरप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै सशस्त्र प्रहरीले कुकुर तिहार मनाएको हो।