प्रधानमन्त्री बन्न नमानेपछि लामिछानेमाथि काँग्रेसले सहकारीको भ्रष्टाचारको आरोप लगायोः ओली

प्रधानमन्त्री बन्न नमानेपछि लामिछानेमाथि काँग्रेसले सहकारीको भ्रष्टाचारको आरोप लगायोः ओली

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताएका छन्।

पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गरे। उनले आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो ? भनी प्रश्न गरे।

उनले काँग्रेसले सत्ता स्वार्थका लागि उपप्रधानमन्त्री लामिछानेले सहकारीमा ठगी गरेको भन्दै हिँडेको पनि बताए। काँग्रेसले उपप्रधानमन्त्रीमाथि सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन गर्नका लागि संसदमा बोल्न नदिएको ओलीको भनाइ छ। उनले नेपाली काँग्रेस लोकतान्त्रिक शक्ति नभएको भन्दै उसले सत्ता स्वार्थका लागि जे पनि गर्न थालेको टिप्पणी गरे।

ओलीले भने, ‘नेपाली काँग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ । कागज लिएर सम्झौता गरौँ भन्न जान्छ राति। त्यो कागजमा उसले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ। रातिसम्म त्यो मान्छे काँग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो। काँग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो। के भएको हो काँग्रेसरु संसद् चल्न दिन्नँ भन्छ, किनरु आफू बोल्छ, अरुलाई आरोप लगाउँछ। आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन। बोल्न दिँदैन।’

अध्यक्ष ओलीले काँग्रेसले जथाभावी गर्न थालेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि एमाले मुलुकको निर्णायक राष्ट्रिय शक्ति बन्नुको विकल्प नभएको बताए।