ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेसप्रति आक्रामक, माओवादीप्रति मौन

ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेसप्रति आक्रामक, माओवादीप्रति मौन

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी छ । बैठकमा करिब २५०० जना प्रतिनिधि सहभागी छन् । उक्त बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

बैठकमा अध्यक्ष ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनैपनि प्रयास सफल नहुने बताए । आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनस्र्थापना नहुनेमा ढुक्क हुन उनले आग्रह गरे ।

‘यो इतिहासको चक्र पछाडि फर्कनेवाला छैन । लोकतान्त्रिक गणतन्त्रको प्रणाली सञ्चालनमा समस्या देखिएका हुन सक्छन् । संविधानले परिकल्पना गरेको न्यायपूर्ण समतामूलक लोकतान्त्रिक र समृद्ध समाजको निर्माणमा विलम्ब भइरहेको हुनसक्छ । तर यस समस्याको विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनस्र्थापना हुनै सक्दैन’, उनले भने ।

एमाले अध्यक्ष ओलीले प्रियतावादी र दक्षिणपन्थी शक्तिले पाएको मत नेपाली राजनीतिमा विवेचनायोग्य घटनाक्रम भएको धारणा राखेका छन् ।

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं शुसासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ । यसैस्थितिले सिर्जना गरेको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ ।’

प्रतिवेदनमा कांग्रेसप्रति आक्रामक देखिएका ओली सत्ता साझेदार माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मौन देखिएका छन् । भ्रष्टाचार आरोप लागेका र  विभिन्न प्रकरणमा जेल परेका नेतालाई कारबाही गर्न नसक्ने कांग्रेसले अन्य दलमाथि प्रश्न उठाउने नैतिक हैसियत नराख्ने ओलीले उल्लेख गरेका छन् । 

https://drive.google.com/file/d/1lJZhg1ceqBuohd04jwSqaKlvlvFrMmyF/view