देश स्टार्ट नभएको गाडी जस्तो भएको छ : केपी ओली

देश स्टार्ट नभएको गाडी जस्तो भएको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकले अथाह साथ, समर्थन र उत्साह पाएको बताएका छन् । सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले नागरिकले देखाएको उत्साहले एमालेमा देश बनाउने संकल्प थप जागेको बताए । ‘यो जाँगरलाई देश बनाउने संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु’, ओलीले भने ।

देशको अवस्था नराम्रो भएकोले राम्रो अवस्थामा नबदली नहुने ओलीले बताए । यसको लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको ओलीले बताए । यो देश बनाउन पर्छ भन्ने बुझेर नै जनताले एमालेको समृद्धिको लागि संकल्प यात्रामा साथ दिएको ओलीको भनाइ छ । देश विदेशका सबै शक्ति एकजुट भएर नेकपा एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ताले जोगाएको भन्दै ओलीले धन्यवाद दिए । नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा उठाएको भन्दै ओलीले कार्यकर्ता प्रति आभार प्रकट गरे । ‘बाघको छाला लगाएका तर स्याल, त्यस्ताले पार्टी सिद्ध्याउन खोज, हामीलाई त पार्टीको साधारण सदस्यबाट नै निकालिदिए’, ओलीले भने ।

एमाले प्रमुख पार्टी भएर मात्र नपुगेको ओलीले बताए । प्रमुख पार्टी हुनको लागि, सरकारमा जानको लागि वा मन्त्री हुनको लागि मात्र नेकपा एमाले नबनेको उनले स्पष्ट पारे । एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक वृद्धिदर ह्वात्तै घटेको ओलीले बताए । सरकारले ल्याएको यो बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगर्ने उनले प्रष्ट पारे । अहिले अर्थतन्त्र ओरालो लागेको र युवा पलायन बढेको भन्दै ओलीले चिन्ता व्यक्त गरे । गठबन्धनले राष्ट्रियताको संरक्षण र विकास गर्छ भन्ने कुरा सोच्दै नसोचे हुने हुने ओलीले बताए । सरकार कर्मचारीलाई तलब खुवाउन समेत ऋण काढ्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

सरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको ओलीले बताए । ‘यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’, ओलीले भने ।