चाडपर्व लक्षित सस्तो पसल आजदेखि, कहाँ कहाँ छन् बिक्री केन्द्र ?

चाडपर्व लक्षित सस्तो पसल आजदेखि, कहाँ कहाँ छन् बिक्री केन्द्र ?

काठमाडौं । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । 

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

ती कम्पनीका काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ । राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ । 

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल रहनेछन् । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेका प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन् । 

कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो,  र सबै प्रकारका तेलमा प्रतिकिलो÷प्रतिलिटर रु सात तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो रु १० छुट पाउनेछन् । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ । 

खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ । कम्पनीले भोलि थापाथालीस्थित बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई रु दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । 

यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौँ उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले रु एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङले चिनी प्रतिकिलो रु ९७ मा बिक्री गर्नेछ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।