२९ वर्षपछि प्यूठान जादैं एमाले अध्यक्ष ओली

२९ वर्षपछि प्यूठान जादैं एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २९ वर्षपछि प्युठान जाने भएका छन् । नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली यही असोज १६ गते प्युठान जाने निश्चित भएको हो । यो उनको दोस्रो पटकको प्युठान भ्रमण हुनेछ ।

एमाले नेताहरूका अनुसार यसअघि ओली पोलिटब्यूरो सदस्य हुँदा पार्टीको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्न २०५२ पुसमा प्युठान गएका थिए । ओलीले प्युठानमा दुई वटा कार्यक्रममा सहभागी हुनेछन् । पहिलो कार्यक्रम भवन उद्घाटन र दोस्रो कार्यक्रम होटेल आयुस्मा जुम्रीमा पार्टीको नेता कार्यकर्ता सहित आम शुभेच्छुकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्युठानमा अध्यक्ष आउने कार्यक्रमलाई केन्द्रित गरेर मङ्गलवार तयारी बैठक गरिएको एमाले प्युठानका जिल्ला अध्यक्ष विजयबिराज विष्टले जानकारी दिए । बैठकले अध्यक्ष ओली आउने कार्यक्रमको तयारीका लागि जिम्मेवारी विभाजनका लागि छलफल गरेको छ ।

‘केपी ओलीलाई सुन्ने चाहना सबैको छ, ‘कार्यक्रमलाई व्यवस्थित गर्न तयारी थालेका छौँ’ उनले भने ।