सारुक आत्माहत्या प्रकरणलाई लिएर नम्रताले दिइन् यस्तो प्रष्टीकरण, बुटी बाँधेकोबारे के भनिन् ?

सारुक आत्माहत्या प्रकरणलाई लिएर नम्रताले दिइन् यस्तो प्रष्टीकरण, बुटी बाँधेकोबारे के भनिन् ?

काठमाडौं । नायिका नम्रता श्रेष्ठले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएकी छन् । मौन रहनु गल्ती स्वीकार गर्नु नभएको उनले स्पष्ट पारेकी छन् । 

अभिनेता सारुक ताम्राकारको आत्महत्यासँग आफूलाई जोडेर भ्रामक र एक पक्षीय समाचार आएको भन्दै उनले यसबारे आफ्नो कानुनी टिमले अध्ययन गरिरहेको बताएकी छन् । आफू विरामी रहेका कारण मिडियामा नआएको उनको भनाइ छ ।  

“म बिरामी थिएँ । म र मेरो परिवारले चलचित्र ह्यासट्याग माया’को निर्माण युनिट र सारुकको परिवारसँग सम्पर्क गर्ने प्रयास गरेको थियो । तर, उहाँहरू सम्पर्कमा आउनु भएन,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । 

आफू क्यानडा गएको भन्ने समाचारमा सत्यता नरहेको पनि उनले स्पष्ट पारेकी छन् । यसबारे प्रहरी पनि जानकार रहेको उनी बताउँछिन् । 

आफूले प्रहरीसमक्ष बयान दिएको बताएकी उनले बुटी बाँध्न लगाएको र कालो बोका काटेको भन्ने हल्लामा पनि सत्यता नरहेको उनको दाबी छ । बुटी र बोको पूजा गर्ने भनेर नाम जोडिएका तान्त्रिक गुरुको पनि प्रहरीले बयान लिइसकेको उनले जानकारी दिएकी छन् । 

सारुक सहयोगी र राम्रो कलाकार भएको भन्दै नम्रताले उनको न्यायका लागि अपिलसमेत गरेकी छन् ।

नम्रतासँगै चलचित्र ‘ह्यासट्याग माया’मा सँगै काम गरिरहेका अभिनेता सारुकले असार २१ गते आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका थिए ।