एसिया कपका लागि नेपाली टिमको बिदाइ, सन्दीप गएनन्

एसिया कपका लागि नेपाली टिमको बिदाइ, सन्दीप गएनन्

काठमाडौं । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कपमा लागि नेपाली टिमलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रममाझ नेपाली टिमको बिदाइ गरेको हो । 

पहिलो खेलका लागि पाकिस्तान जाने नेपाली टिमसँग स्पिनर सन्दीप लामिछाने भने नजाने भएका छन् । क्यानले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै व्यवस्थापक प्रदीप मजगयाले सन्दीप टिमसँग नजाने जनाएको हो । 

एसिया कपका लागि नेपाली टिम आज राति पाकिस्तान जाँदै छ । अगस्ट ३० देखि सुरु हुने एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाए पनि राजनीतिक तिक्तताका कारण भारतले टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगितन ‘हाइब्रिड मोडेल’मा सञ्चालन हुने सहमति बनेको छ ।

जसअनुसार प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी खेलहरु भने श्रीलंकामा हुने सहमति बनेको छ । पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ ।

पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल घरेलु टिम पाकिस्तान र भारतसँगै समूह ‘ए’मा छ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमै पाकिस्तानसँग खेल्ने तालिका छ । अगस्ट ३० मा हुने यो खेल पाकिस्तानको मुल्तानमा हुनेछ । यस्तै, नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा भारतविरुद्ध श्रीलंकामा खेल्नेछ ।

नेपालले विश्व च्याम्पियन बनिसकेका भारत र पाकिस्तानसँग पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेट खेल्न लागेको हो ।